निर्णय नं. ७२६६ – जवर्जस्ती करणी
निर्णय न. ७२६६ ने.का.प.२०६० अङ्क ९.१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत्...
निर्णय न. ७२६६ ने.का.प.२०६० अङ्क ९.१०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
संवत् २०६० सालको फौ.पू.ई.नं. ….. ११
फैसला मितिः २०६०।९।३।५
मुद्दाः जवर्जस्ती करणी ।
पुनरावेदक
वादीः मिना सुनारको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी
प्रतिवादीः बर्दिया जिल्ला जमुनी गा.वि.स.वडा नं. ५ बस्ने बासुदेव पौडेल
§ प्रतिवादीले आफ्नो बयानमा जाहेरवालीको देवरसंग वारदात भन्दा केही दिन अगाडि झगडा भएको भनेकोमा निजका साक्षी टिकाप्रसाद अधिकारीले केही महिना अगाडि झगडा भएको भन्ने उल्लेख गरेको र अर्का साक्षी बुद्धिप्रसाद सापकोटाले सो घटनाको दिन यकिन गर्न सकेको नपाइएकोले त्यस्तो परस्पर वाझिएको बकपत्रको व्यहोरालाई प्रमाणयोग्य मान्न मिल्ने देखिन नआउने ।
§ संलग्न कागज प्रमाणबाट देखिएको उल्लेखित तथ्यगत परिस्थितिको विश्लेषण गर्दा जाहेरवाली मिना सुनारले चार वर्षकी अवोध बालिकाको चरित्रलाई सुदूर भविष्यसम्म आघात पर्ने गरी कुनै बेकसूर व्यक्तिले आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भनि किटानी जाहेरी दिएको भन्ने स्वभाविक अवस्था रहेको नदेखिने ।
§ प्रतिवादीले अदालत समक्ष बयान गर्दा वारदात भन्दा केहि दिन अगाडि निजको देवरसंग झगडा भएकोले सोही रीस इवीको कारणबाट जाहेरवालीले किटानी जाहेरी दिएको भनि लिएको जिकिर विश्वसनीय प्रमाणबाट पुष्टि हुन नआउने ।
§ प्रतिवादी बासुदेव पौडेलले पीडित मौसम सुनारलाई अनुचित कार्य गरेको र प्रतिवादीको सो कार्यबाट पीडितको योनी सुनिएको तथा योनीबाट रगत निस्किएको भन्ने वारदातसंग सम्बन्धित मूलभूत तथ्यमा सारभूत रुपमा कुनै अन्तर नदेखिएकोले अभियोजन कर्ताबाट संकलित सबुद प्रमाणमा शंका उत्पन्न गर्नु मनासिव नदेखिने ।
§ पीडितलाई परीक्षण गर्ने डाक्टर रमाशंकर दिपको अदालत समक्षको बकपत्रबाट समेत पीडितको भगोष्ट तथा योनीको बाहिरी भाग सुनिएको भन्ने देखिएको र वारदातको लगतै परीक्षण गरिएकी पीडितको त्यस्तो अवस्था प्रतिवादीको कसूर बाहेक अन्य कारणबाट भएको भन्ने विश्वसनीय आधार प्रमाण नदेखिने ।
§ चार वर्षको उमेर भएकी अवोध बालिका प्रतिवादीको पाशविक कार्यको शिकार भएको स्पष्ट देखिएको र जवरजस्ती करणी जस्तो पीडितको चरित्रमा भविष्यसम्म असर पर्ने संवेदनशील मुद्दामा अनुसन्धानको क्रममा तथा अदालती कार्यवाहीको क्रममा भएको साना तिना त्रुटीहरुलाई केलाई अभियोजन पक्षद्वारा संकलित प्रमाणमा शंका देखाई कसूर स्थापित नै नभएको भनि प्रमाणित गर्न खोज्नु मनासिव नहुने ।
§ प्रतिवादीलाई शंकाको सुविधा दिई अभियोग दावीबाट सफाइ दिने गरेको वर्दीया जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी गरी प्रतिवादी बाशुदेव पौडेलले जाहेरवालीकी चार वर्षीया छोरी पीडित मौसम सुनार उपर जवरजस्ती करणीको उद्योग गरेको ठहराई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ तथा ५ नं. बमोजिमको कसूरमा सोही महलको ३ नं.मा भएको तत्काल प्रचलित कानूनी व्यवस्था अनुसार प्रतिवादी बासुदेव पौडेललाई कैद वर्ष ३(तीन) सजायं हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्ने ।
(प्र.नं.२५ देखि २७)
पुनरावेदक वादी तर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य
विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राजेन्द्रप्रसाद साह
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, नेपालगंजबाट भएको मिति २०५०।३।२१ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुंदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत, नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :–
२. मिति २०४९।४।२२ का दिन म काम गर्न गएको अवस्थामा मेरी चार वर्षकी नावालक छोरी मौसम सुनार्नीलाई गाउंकै बासुदेव पौडेलले जवरजस्ती करणी गरेकोले निजलाई पक्राउ गरी जवरजस्ती करणीमा सजायं गरी पाउं भन्ने समेत व्यहोराको पीडितकी आमा मीना सुनार्नीले प्रहरी चौकी जमुनीमा दिएको जाहेरी दरखास्त ।
३. मिति २०४९।४।२२ गतेका दिन गाउंकै तेजप्रसादको कपास बाली गोड्न मजदूरीमा गएकी थिएं । कामबाट फर्की आई छोरा छोरीलाई बोलाउंदा छोरा आयो । बहिनी खोई ? भनि सोद्धा तेजप्रसादको घरमा छ भनेको हुंदा गई हेर्दा छोरी हिड्न नसकी उचाली घरमा ल्याई सोद्धा तेजप्रसादको छोरा बासुदेवले मकै वारीमा लगि मलाई करणी गरे र सो पिडाबाट हिंड्न नसकेको भनेकी हुंदा र छोरीको गुप्तांग हेर्दा सुन्निएको देखिएको हुंदा मेरो छोरीलाई अनुचित कार्य गर्ने निज बासुदेव पौडेललाई पक्राउ गरी कारवाही गरी सजायं समेत गरी पाउं भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय वर्दीयामा दिएको जाहेरी दरखास्त ।
४. मेरो दाई यमबहादुरलाई बासुदेवले बोलाई कता पठाए थाहा छैन । एकछिन पछि बासुदेवले मलाई काखमा राखी फकाई फुल्याई मेरो दुवै खुटृा फट्याई मलाई करणी गरे । म रुंदा अम्बा खान दिए । मेरो गुप्तांग साह्रै दुःखी रगतसम्म आयो । उक्त रगतलाई दाइले नलका चलाई मैले धोएं भन्ने समेत व्यहोराको पीडित मौसम सुनार्नीको कागज ।
५. पीडित मौसम सुनार्नीको गुप्तांग चेक गर्दा चोट लागेको, सुन्निएको देखिएको । उक्त चोट जवरजस्ती लिङ्ग योनीमा प्रवेश गराउंदा भएको साथै भगोष्ट सुन्निएको कारण लिङ्ग जवरजस्ती प्रवेश गराउन प्रयास भएको प्रमाणित गरिन्छ भन्ने समेत व्यहोराको वर्दिया जिल्ला अस्पतालको पत्र ।
६. मिति २०४९।४।२२ गते जाहेरवाली मेरो कपास खेतमा काम गर्न गएकी अवस्थामा मौसमलाई करणी गर्ने बिचार मेरो मनमा आएकोले निजलाई फकाउंदै मकै वारीमा लगी सुताई करणी गरें । निज मौसम रुंन थालेकीले अम्बा खान दिएको हुं भन्ने समेत व्यहोराको बासुदेव पौडेलको प्रहरीमा भएको कागज ।
७. चार वर्षको अबोध बालिकालाई निज अभियुक्तले करणी गरेको हो भनि स्वेच्छाले स्वीकार गरेको र उक्त कुरा अन्य प्रमाणहरुबाट समेत पुष्टि हुन आएको हुंदा निज बासुदेव पौडेललाई जवर्जस्ती करणीको १ नं. को कसूरमा ऐ.३ नं. अनुसार सजायं गरी ऐ. १० नं. अनुसार प्रतिवादीले पाउने अंशबाट आधा अंश पीडित मौसम सुनार्नीलाई दिलाई भराई पाउं भन्ने समेत व्यहोराको अभियोग पत्र ।
८. वारदात भन्दा केहि दिन अगाडि जाहेरवालीका देवर हुमबहादुर सुनार र मेरो बिच झगडा भै मुद्दा दिन खोजेकोमा सो दिन नपाउंदै रिसइविबाट जवर्जस्ती करणीमा फसाउन खोजेका हुन् । उक्त दिन घरबाट बाख्रा चराउन लगी दिनभर बाख्रा चराई सांझमा घर फर्की आएको छु । तसर्थ निज पीडित भनिएकी मौसमलाई मैले करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी बासुदेव पौडेलको बयान ।
९. प्रतिवादीका साक्षीहरु तथा सर्जमिनका मानिसहरुले गरि दिएको बकपत्र मिसिल सामेल रहेको ।
१०. अदालतमा इन्कार रही साक्षीहरुबाट इन्कारीलाई समर्थन गराउने प्रतिवादीलाई शंकाको भरमा कसूर ठहर गर्न मिलेन । शंकाको सुविधा प्रतिवादीले पाउने भन्ने समेत फौज्दारी न्यायको सिद्धान्त समेतको आधारमा प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको बर्दिया जिल्ला अदालतको मिति २०५०।३।२१ को फैसला ।
११. वादी पक्षका यथेष्ट सबुद प्रमाण छंदा छंदै मुख्य प्रमाणहरुलाई बुझी उक्त सबुद प्रमाणहरुको मूल्यांकन गरी फैसला हुनुपर्नेमा सो नगरी गरेको शुरुको फैसला कानूनी त्रुटिपूर्ण हुंदा उक्त फैसला बदर गरी प्रतिवादीलाई वादी पक्षको माग दावी बमोजिम सजायं गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१२. मिसिल संलग्न जाहेरीवाली र सर्जमिनका मानिसहरुको अदालतमा भएको बकपत्र र पीडित मौसम सुनारको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतबाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिएको शुरु फैसला फरक पर्न सक्ने भएकोले छलफलको लागि विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५१।४।१८ को आदेश ।
१३. मौसम सुनार र बासुदेव पौडेलको गुप्तांग परीक्षण गर्ने डाक्टरबाट भएको परीक्षण प्रतिवेदन अनुसार जिल्ला मेडिकल सुपरिटेण्डेण्टबाट जिल्ला प्रहरी कार्यालय बर्दियामा पत्र पठाउंदा जवर्जस्ती करणी नभएको भन्ने र २०४९।४।३० को पत्रमा भगोष्ट सुन्निएको कारण लिङ्ग जवर्जस्ती प्रवेश गराउन प्रयास भएको प्रमािणत गरिन्छ भनि उल्लेख गरेको देखियो । दुवै पत्रको व्यहोरामा विरोधाभाष देखिंदा डा. रमाशंकर दीपले दिएको जांच प्रतिवेदन र निज तथा डा. ब्रह्म नारायण भारी हाल कहां छन् ? पुनरावेदन सरकारी वकिल कार्यालय मार्फत झिकाई आदेशानुसारको कार्य सम्पन्न भै आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५२।२।२२ को पुनरावेदन अदालत, नेपालगञ्जको आदेश ।
१४. एउटै विषयमा डाक्टर जाच प्रतिवेदनको दुई भिन्न मितिको पत्रको राय भिन्दा भिन्दै रहेकोले पीडित केटी मौसम सुनारलाई जांच्ने डा.रमाशंकर दीपलाई बुझ्नु पर्ने हुंदा निज डाक्टर सिंचाई आयोजनामा कार्यरत रहेको देखिंदा त्यहां वा जहां भए पनि दिन किटान गरी उपस्थित हुन म्याद पठाई हाजिर भए बकपत्र गराउनु तथा मौसम सुनार एवं बासुदेव पौडेललाई वर्दिया जिल्ला अदालतमा जांच्न पठाउंदा जाच्ने डाक्टरले दिएको प्रतिवेदन अनुसार भनि मिति २०४९।४।२६ मा पठाएको हुंदा सो जांच प्रतिवेदन र प्रहरीले पठाएको सक्कल पत्र बर्दिया जिल्ला अदालतबाट झिकाउनु । साथै पीडित तथा निजका दाई यमबहादुर सुनार नबुझी नहुने अवस्थाका हुंदा सरकारी पक्षबाट जिल्ला अदालतमा उपस्थित नगराएकोले निजहरुलाई अ.वं. ११५ नं. अनुसार उपस्थित गराई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५३।३।१२ को पुनरावेदन अदालत, नेपालगञ्जको आदेश ।
१५. पीडित मौसम सुनर्नीलाई मैले मिति २०४९।४।२६ मा परीक्षण गर्दा पीडितको योनीको बाहिरी भाग सुनिएको, विर्य नदेखिएको तथा hymen rupture नभएको कुरा प्रतिवेदनमा उल्लेख गरेको थिएं । मिति २०४९।४।३२ को प्रतिवेदनको सम्बन्धमा पीडित मौसम सुनार र प्रतिवादी बासुदेव पौडेल दुवैले जवर्जस्ती करणी गरे भएको कुरा स्वीकार गरेका र पीडितको योनीको बाहिरी भागमा लागेको चोट पटक र सुन्निएको कारण जवर्जस्ती करणी गर्नु प्रयास गरेकाले हुनसक्ने संभावना भएको भनि प्रतिवेदन लेखि दिएको हुं भन्ने समेत व्यहोराको पीडितको शारीरिक परीक्षण गर्ने डा. रमाशंकर दीपले गरेको बकपत्र ।
१६. प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादीले प्रतिवादी उपरको कसूर शंका रहित तवरबाट प्रमाणित हुने गरी कुनै सबुद प्रमाण गुजार्न सकेको देखिएन । अतः शंकाको सुविधा प्रतिवादीले पाउने न्यायिक परम्परा समेतको आधारमा प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने भनि शुरु बर्दिया जिल्ला अदालतबाट भएको फैसला मनासिव नै हुंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको २०५४।२।१२ को फैसला ।
१७. उक्त फैसलामा चित्त बुझेन । पीडितले फ्रक लगाएको, लड्दा योनीमा चोट लागेको हुन सक्ने भनि अदालतबाट असंगत अनुमान गरिएको छ । योनीको भगोष्टमा सुन्निएको, लिङ्ग आदि प्रवेश गराउंदा हुन सक्ने भनि डाक्टरले उल्लेख गरी रहेको अवस्थामा अन्यथा अनुमान गर्न कानूनतः मिल्ने देखिदैन । वादी दावी स्पष्ट प्रमाणित भइरहेको अवस्थामा वादी दावी प्रमाणित नभएको भनि भए गरेको फैसला त्रुटीपूर्ण भै बदरभागी छ । अतः शुरु माग दावी बमोजिम सजायं हुनुपर्ने स्पष्ट हुंदा हुंदै सफाइ दिने गरी शुरु जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहराई भएको पुनरावेदन अदालत, नेपालगञ्जको फैसला कानूनी त्रुटिपूर्ण हुंदा उक्त फैसला बदर गरी शुरु अभियोग माग दावी बमोजिम प्रतिवादीलाई सजायं गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालत समक्ष परको निवेदन पत्र ।
१८. प्रतिवादी बासुदेव पौडेलले ४ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको भन्ने प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा भएको बयानलाई अन्यथा भन्न नसकिने भएमा प्रमाण लिन पर्ने हुंदा सो तथ्यलाई पीडितले कागज गरी दिएकी र जाहेरवाली मिना सुनार्नीले उजूरी गर्नुका साथै घटना विवरण सम्पूर्ण खुल्ने गरी बकपत्र समेत गरेको र डाक्टरको प्रतिवेदनले समेत पीडितको यथार्थ अवस्थालाई चित्रण गरेकोमा प्रमाण ऐन, २०३१ को दफा ९,१८ र २३ मा उल्लेखित प्रमाणयोग्य भनि स्वीकार गरेको प्रावधानलाई बेवास्ता गरी पुनरावेदन अदालत, नेपालगञ्जबाट मिति २०५४।२।१२ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ९, १८ र २३ को व्याख्यात्मक त्रुटि भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५६।१।१५ को आदेश ।
१९. पीडितको योनी र सो को बाहिर विर्य नदेखिएको र निजको योनी पर्दा (hymen) नफाटेको भन्ने समेत डाक्टरी प्रतिवेदनबाट देखिन आएको स्थितिमा केवल योनीको बाहिरी भागमा पर्न गएको चोट पटककै भरमा जवरजस्ती करणी गरेको ठहर्याउन मिल्ने देखिन नआएको र शंकारहित प्रमाणको अभावमा अनुमान कै भरमा प्रतिवादीलाई कसूरदार ठहर गर्नु न्यायोचित नहुंदा प्रतिवादीलाई सफाइ दिने गरी शुरुबाट भएको इन्साफ सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय ।
२०. डाक्टरी परीक्षणमा पीडित बालिकाको भगोष्टमा चोट लागेको र सुन्निएको भएता पनि गुप्तांगको वरिपरी विर्य वा विर्यको दाग नलागेको भनि उल्लेख गरेको पाइएको र यस्तै तथ्य रहेको श्री ५ को सरकार विरुद्ध मोतीराम तेली भएको जवर्जस्ती करणी मुद्दामा यस अदालत संयुक्त इजलासबाट ने.का.प. २०४०, पृष्ठ ६४२ मा योनीमा चोट परेको तर विर्य वा विर्यको दाग नदेखिएको र योनीको पर्दा नच्यातिएको स्थितिमा जवरजस्ती करणी नभई जवरजस्ती करणीको उद्योग मात्र ठहराइएको पाइएकोले प्रस्तुत मुद्दामा प्रतिवादीले जवर्जस्ती करणीको उद्योग गरेको मात्र गरेको देखिन्छ । प्रतिवादीलाई सन्देहको फाइदा (Benefit of doubt) दिई सफाइ दिएको पुनरावेदन अदालत नेपालगंजको निर्णय केही उल्टी हुन्छ । प्रतिवादीलाई जवरजस्ती करणीको महलको ५ नं. बमोजिम ३ वर्ष कैद सजायं हुने ठहर्छ । प्रतिवादीलाई सफाइ दिएको माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको रायसंग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०५९।१२।१४ को फैसला ।
२१. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्यले पीडित मौसम सुनारलाई जवर्जस्ती करणी गरेको हो भनि प्रतिवादीले सरकारी वकील समक्ष साविति बयान गरेका छन् । जाहेरवाली मीना सुनार समेतको बकपत्रबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको सो साविति बयान पुष्टि भइरहेको छ । पीडितलाई परीक्षण गर्ने डाक्टरको प्रतिवेदन तथा बकपत्रबाट समेत पीडितको योनीमा चोट लागेको तथा सुन्निएको भन्ने स्पष्ट भएको अवस्थामा प्रतिवादीलाई अभियोग मागदावी बमोजिम सजायं हुनुपर्नेमा सफाइ दिएको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुनुपर्छ भन्ने समेत व्यहोराको र प्रतिवादीका तर्फबाट विद्वान वैतनीक अधिवक्ता श्री राजेन्द्रप्रसाद साहले प्रतिवादीले अदालत समक्ष बयान गर्दा कसूरमा पूर्णत इन्कार रही बयान गरेका छन् । प्रतिवादीले वारदात गरिरहेको देख्ने प्रत्यक्षदर्शीको अभाव छ । पीडितको शारीरिक परीक्षण गरिंदा जवर्जस्ती करणी भएको लक्षण देखिएको छैन । पीडितले भनेर थाहा पाएको भन्ने आधारमा जाहेरी परेको र सोही आधारमा गरिएको बकपत्रलाई आधार बनाई प्रतिवादीलाई कसूरदार ठहर गर्न नमिल्ने हुंदा निजलाई अभियोग मागदावीबाट सफाइ दिने गरेको माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
२२. विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेत सुनि निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेको छ छैन ? पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दछ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२३. प्रस्तुत मुद्दामा चार वर्षकी बालिका मौसम सुनारलाई मकै वारीमा लगी प्रतिवादी बासुदेव पौडेलले जवर्जस्ती करणी गरेकाले निजलाई मुलूकी ऐन जवर्जस्ती करणीको महलको १ नं.को कसूरमा ३ नं. अनुसार सजायं गरी सोही महलको १० नं. अनुसार प्रतिवादीको आधा अंश समेत पीडितलाई भराई पाउं भन्ने अभियोग मागदावी लिइएको पाइन्छ । प्रतिवादीले अदालतमा कसूरमा इन्कार रही गरेको बयान साक्षीहरुको बकपत्रबाट पुष्टि भइरहेकोले शंकाको भरमा कसूरदार ठहर गर्न नमिल्ने हुंदा अभियोग मागदावीबाट सफाइ दिने गरी शुरु वर्दिया जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत नेपालगंजबाट सदर भएको देखिन्छ । सो फैसला उपर मुद्दा दोहोर्याई पाउं भनि दिएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भई निर्णयार्थ पेश हुंदा शंका रहित प्रमाणको अभावमा प्रतिवादीलाई कसूरदार ठहर गर्न नमिल्ने भन्ने माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्यको राय र पीडितको भगोष्ट सुनिएको र चोट समेत देखिएको अवस्था भएको हुंदा प्रतिवादीले जवर्जस्ती करणीको उद्योग गरेको ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सुशिला सिंह सिलुको राय भई संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन आउंछ ।
२४. जाहेरवाली मीना सुनारको जाहेरी व्यहोरा अध्ययन गर्दा निजले आफू गाउंका छिमेकी तेजप्रसाद पौडेलको वारीमा कपाश बाली गोड्ने काम गरी घरमा फर्की आई छोराछोरीको खोजी गर्दा छोरा यमबहादुर सुनार घरमा आएको तर आफ्नी चार वर्षकी छोरी मौसम सुनार घरमा नआएकीले सोध खोज गर्दा निज तेजप्रसादको घरमा सुति रहेको अवस्थामा रहेकी र ल्याउंन लाग्दा हिड्न नसकेकीले बोकेर घरमा ल्याई सोद्धा सो दिन दिउंसो तेजप्रसादका छोरा बासुदेव पौडेलले निज छोरीसंग जवर्जस्ती अनुचित कार्य गरेको र निजको सो कार्यबाट आफ्नो गुप्ताङ्ग साह्रै दुखी रगत समेत आएको भनि बताएकीले प्रतिवादी बासुदेव पौडेललाई कारवाही गरी पाउं भन्ने समेत व्यहोरा उल्लेख गरेको पाइन्छ । सो जाहेरी दरखास्तमा उल्लेख गरिएको वारदात सम्बन्धी व्यहोरा उल्लेख गरी पीडित मौसम सुनार तथा निजको दाजु यमबहादुर सुनारले प्रहरीमा कागज समेत गरी दिएको देखिन्छ । पीडित मौसम सुनारलाई परीक्षण गरी पठाइएको जिल्ला अस्पताल वर्दियाको मिति २०४९।४।२६ को पत्रमा पीडितको भगोष्टमा चोट लागेको र सुनिएको तर गुप्ताङ्गको वरिपरी विर्य वा विर्यको दाग नलागेको भन्ने उल्लेख गरिएको पाइन्छ । प्रतिवादी बासुदेव पौडलले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कसूरमा पूर्णतः सावित रही बयान गरेको देखिन्छ भने अदालतमा बयान गर्दा आफूले कसूर नगरेको भनि इन्कार रही वारदातको दिन पीडित मौसम सुनारसंग भेटघाट नै नभएको र जाहेरवालीको देवर हुमबहादुर सुनारसंग वारदात हुनु भन्दा केही दिन अगाडि झगडा भई घाउ केश फारम समेत भएकोले सोही रीस इवीको कारणबाट आफु उपर किटानी जाहेरी दिएको भन्ने उल्लेख गरेको पाइन्छ । सर्जमिनमा उपस्थित भई आफ्नो व्यहोरा लेखाउने बलबहादुर सुनार, रामसिंह ठकुरी, कृष्णबहादुर साहीले प्रतिवादी बासुदेव पौडेलले पीडितलाई जवर्जस्ती अनुचित कार्य गरेको भनि लेखाई दिएको र आफूहरुले पीडितको योनी सुनिएको र त्यसबाट रगत समेत आइरहेको देखेको भनि सरजमिनमा उल्लेख गरिएको आ–आफ्नो व्यहोरालाई समर्थन गर्दै अदालतमा बकपत्र समेत गरिदिएको देखिन्छ । जाहेरवाली मीना सुनारले अदालतमा बकपत्र गर्दा आफ्नो जाहेरी व्यहोरालाई पुष्टि गर्दै मिति २०४९।४।२२ गतेका दिन आफू बासुदेवको खेतमा कपास गोड्न गएको समयमा प्रतिवादीले आफ्नी छोरी मौसम सुनारलाई ललाई फकाई जवर्जस्ती करणी गरेको र निजको सो कार्यबाट पीडितको योनी सुनिएको र रगत समेत आएको देखिएको भनि वारदात सम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरेको पाइन्छ ।
२५. प्रतिवादीले आफ्नो बयानमा प्रहरी समक्षको बयान आफ्नो राजिखुशीले नभएको र प्रतिवादीले सहिछाप गर भनेकाले सहिछाप गरिदिएको भन्ने उल्लेख गरेको पाइन्छ । तर निजले सो बयानमा आफूलाई जवर्जस्तीसंग सहिछाप गराएको भन्ने सम्बन्धमा कुनै जिकिर लिन सकेको पाइदैन । त्यस्तै वारदात हुनु भन्दा केहि दिन अगाडि जाहेरवालीको देवर हुमबहादुर सुनारसंग झगडा भई केश फाराम समेत तयार गरेको र सोही रीस इवीको कारणबाट आफू उपर किटानी जाहेरी परेको भनि बयान गरेको पाइन्छ । तर निजले आफ्नो सो व्यहोरालाई समर्थन गर्ने घाउ केश फाराम समेतका कागजातहरु पेश गर्न सकेको समेत पाईदैन । त्यस विपरीत वारदातको दिन समेत जाहेरवाली मिना सुनार प्रतिवादी बासुदेव पौडेलका बाबु तेजप्रसाद पौडेलको वारीमा कपास गोड्न गएकी र सो दिन सांझ पीडित मौसम सुनार प्रतिवादीको घरमा सुतिरहेकोले निजलाई जाहेरवालीले बोकेर आफ्नो घर तर्फ ल्याएको भन्ने निजको जाहेरी व्यहोरा अदालत समक्षको बकपत्रबाट समेत समर्थित भइरहेको देखिन्छ । सो व्यहोराबाट प्रतिवादीले अदालत समक्ष गरेको बयानमा उल्लेख गरिएको व्यहोरा खण्डित भइरहेको अवस्था देखिन आउंछ । प्रतिवादीले आफ्नो बयानमा जाहेरवालीको देवरसंग वारदात भन्दा केही दिन अगाडि झगडा भएको भनेकोमा निजका साक्षी टिकाप्रसाद अधिकारीले केही महिना अगाडि झगडा भएको भन्ने उल्लेख गरेको र अर्का साक्षी बुद्धिप्रसाद सापकोटाले सो घटनाको दिन यकिन गर्न सकेको नपाइएकोले त्यस्तो परस्पर वाझिएको बकपत्रको व्यहोरालाई प्रमाणयोग्य मान्न मिल्ने देखिन आएन यसका अतिरिक्त पीडित मौसम सुनारलाई अनुसन्धानको क्रममा परीक्षण गर्ने डाक्टर रमाशंकर दीपले पुनरावेदन अदालत समक्ष गरेको बकपत्र अध्ययन गर्दा निजले आफूले पीडितलाई परीक्षण गर्दा पीडितको भगोष्ट र योनीको बाहिरी भाग सुनिएको देखिएको, त्यहां विर्य नदेखिएको र hymen rupture नभएको भनि प्रतिवेदन दिएको तथा पीडित तथा प्रतिवादी दुवैले आफू समक्ष जवर्जस्ती करणी गरें भएको कुरा स्वीकार गरेको भन्ने आफ्नो प्रतिवेदन व्यहोरालाई पुष्टि गरिरहेको देखिन्छ ।
२६. मिसिल संलग्न कागज प्रमाणबाट देखिएको उल्लेखित तथ्यगत परिस्थितिको विश्लेषण गर्दा जाहेरवाली मिना सुनारले चार वर्षकी अवोध बालिकाको चरित्रलाई सुदूर भविष्यसम्म आघात पर्ने गरी कुनै बेकसूर व्यक्तिले आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भनि किटानी जाहेरी दिएको भन्ने स्वभाविक अवस्था रहेको सेमत देखिन आउंदैन । प्रतिवादीले अदालत समक्ष बयान गर्दा वारदात भन्दा केहि दिन अगाडि निजको देवरसंग झगडा भएकोले सोही रीस इवीको कारणबाट जाहेरवालीले किटानी जाहेरी दिएको भनि लिएको जिकिर विश्वसनीय प्रमाणबाट पुष्टि हुन आएको पाइदैन । जाहेरवालीले प्रहरी चौकी जमुनीमा र जिल्ला प्रहरी कार्यालय बर्दियामा दिएको जाहेरी व्यहोरा र अदालतमा आई गरेको बकपत्रको व्यहोरामा एक रुपता नभएको तथा सर्जमिनका बलबहादुर सुनार समेतका मानिसहरुले सर्जमिनमा लेखाई दिएको व्यहोरा तथा बकपत्र व्यहोरामा एकरुपता नभएको भनि प्रतिवादी तर्फका कानून व्यवसायीले लिनु भएको वहस जिकिरका सम्बन्धमा निजहरुको व्यहोरामा प्रतिवादी बासुदेव पौडेलले पीडित मौसम सुनारलाई अनुचित कार्य गरेको र प्रतिवादीको सो कार्यबाट पीडितको योनी सुनिएको तथा योनीबाट रगत निस्किएको भन्ने वारदातसंग सम्बन्धित मूलभूत तथ्यमा सारभूत रुपमा कुनै अन्तर देखिएको पाइदैन । यसैले त्यतिमात्र कारणले अभियोजन कर्ताबाट संकलित सबुद प्रमाणमा शंका उत्पन्न गर्नु मनासिव देखिंदैन । पीडितलाई परीक्षण गर्ने डाक्टर रमाशंकर दिपको अदालत समक्षको बकपत्रबाट समेत पीडितको भगोष्ट तथा योनीको बाहिरी भाग सुनिएको भन्ने देखिएको र वारदातको लगतै परीक्षण गरिएकी पीडितको त्यस्तो अवस्था प्रतिवादीको कसूर बाहेक अन्य कारणबाट भएको भन्ने विश्वसनीय आधार प्रमाण समेत देखिन आएको पाइदैन । निजको बकपत्रको व्यहोराबाट प्रतिवादी तथा पीडित दुवैले निजको सामू समेत जवरजस्ती करणीको वारदात भएको स्वीकार गरेको भन्ने देखिन आएको छ । पक्ष विपक्ष बाहेकका अन्य स्वतन्त्र व्यक्तिले अदालत समक्ष उपस्थित भई आफ्नो बकपत्रमा उल्लेख गरेको सो व्यहोरालाई अदालतले न्यायको रोहमा जानकारी नै लिन हुंदैन पनि भन्न मिल्ने देखिन आउंदैन । चार वर्षको उमेर भएकी अवोध बालिका प्रतिवादीको पाशविक कार्यको शिकार भएको स्पष्ट देखिएको र जवरजस्ती करणी जस्तो पीडितको चरित्रमा भविष्यसम्म असर पर्ने संवेदनशील मुद्दामा अनुसन्धानको क्रममा तथा अदालती कार्यवाहीको क्रममा भएको साना तिना त्रुटीहरुलाई केलाई अभियोजन पक्षद्वारा संकलित प्रमाणमा शंका देखाई कसूर स्थापित नै नभएको भनि प्रमाणित गर्न खोज्नु मनासिव मान्न मिल्दैन ।
२७. जाहेरवाली मीना सुनारको किटानी जाहेरी तथा निजले अदालतमा गरेको बकपत्र तथा वारदात पछि पीडित मौसम सुनारको शारीरिक परीक्षण गरी निजको भगोष्टमा चोट लागेको र सुनिएका भनि चिकित्सक डा.रमाशंकर दिपले दिएको प्रतिवेदनको व्यहोरालाई समर्थन गर्दै निजले अदालत समक्ष उपस्थित भई गरेको बकपत्र समेतबाट प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा उल्लेखित वारदातको व्यहोरा पुष्टि भइरहेको स्पष्टतः देखिन आएको छ । यसर्थ प्रतिवादीलाई शंकाको सुविधा दिई अभियोग दावीबाट सफाइ दिने गरेको वर्दीया जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी गरी प्रतिवादी बाशुदेव पौडेलले जाहेरवालीकी चार वर्षीया छोरी पीडित मौसम सुनार उपर जवरजस्ती करणीको उद्योग गरेको ठहराई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ तथा ५ नं. बमोजिमको कसूरमा सोही महलको ३ नं.मा भएको तत्काल प्रचलित कानूनी व्यवस्था अनुसार प्रतिवादी बासुदेव पौडेललाई कैद वर्ष ३ (तीन) सजायं हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्रतिवादी बासुदेव पौडेललाई जवर्जस्ती करणीको उद्योग गरेको कसूरमा ३ वर्ष कैद सजायं हुने ठहरेकोले सो अनुसारको लगत राखी निज प्रतिवादी मिति २०४९।४।२५ देखि थुनामा रही वर्दीया जिल्ला अदालतको शुरु फैसला अनुसार मिति २०५०।३।२१ बाट थुनाबाट मुक्त भएको देखिएकोले थुनामा रहेको अवधि कटृा गरी बांकी कैद असूल गर्नु भनि शुरु वर्दिया जिल्ला अदालतमा लेखि पठाई दिनु …. १
मिसिल नियमानुसार बुझाई दिनु …२
उपर्युक्त रायमा सहमत छौं ।
न्या.गोविन्दवहादुर श्रेष्ठ
न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६० साल पौष ३ गते रोज ५ शुभम् ………. ।