निर्णय नं. ७२४४ – जोत कायम
निर्णय नं.७२४४ ने.का.प.२०६० अङ्क ७.८ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५९...
निर्णय नं.७२४४ ने.का.प.२०६० अङ्क ७.८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्बत् २०५९ सालको पुनरावलोकन नं.२४
फैसला मितिः २०६०।७।२७।५
मुद्दा :– जोत कायम ।
निवेदक
पुनरावेदकः काठमाडौं जि.का.म.न.पा.वडा नं. ३० भोटाहिटि बस्ने बिष्णुकुमारी श्रेष्ठ
विरुद्ध
बिपक्षी
वादीः ऐ.फुटुङ्ग गा.वि.स. वडा नं. ७ वस्ने नावालक महेश्वर प्रधानको संरक्षक शान्ति प्रधान
§ निवेदीका विष्णु कुमारीले विवादीत कि.नं. १५३ को जग्गाको मोही हक मिति २०३७।१२।२७ मा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र सो छोडपत्रको आधारमा महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानले आफ्नो नाउमा मोही कायम गराई पाउं भनी कारवाई चलाएपछि मात्र मोहियानी हक छाड्न मञ्जुर छैन भनी जिकिर लिएको अवस्था देखिएकाले मोही पजनी मुद्दा र प्रस्तुत मुद्दामा रहेको तथ्यमा समानता देखिन नआउने ।
§ प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६क आकर्षित हुने नभै ऐ.ऐनको दफा २५(४)(क) को व्यवस्था नै आकर्षित हुने हुंदा पुनरावलोकनको निस्सा दिने आदेशमा उल्लेख गरिएको प्रतिपादित सिद्धान्त प्रतिकूल यस अदालत संयुक्त इजलासवाट फैसला भएको भन्न सकिने अवस्था नरहेकाले पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२ को आदेश संग सहमत हुन नसकिने ।
§ न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा जुन आधारमा पुनरावलोकन गर्ने आदेश गरेको हो, सोही आधार र सम्बद्ध बिषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था समेत देखिएकाले प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा आधार लिइएको नजीर सान्दर्भिक नदेखिने ।
§ पुनरावलोकनको निस्सा प्रदान गर्दा लिइएको आधार नै सान्दर्भिक नदेखिई पुनरावलोकनको निस्सा दिएको परिधि भीत्र प्रस्तुत मुद्दा परेको नदेखिएकोले उक्त ऐनको दफा १३ बमोजिम मुद्दाको औचित्य र विषयवस्तुमा प्रवेश गरी यस अदालतको संयुक्त इजलासको मिति ०५७।२।१८ को फैसला पुनरावलोकन गरी हेर्न नमिल्ने ।
(प्र.नं.२६ र २७)
निवेदक पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री वालकृष्ण न्यौपोन, श्री अग्नि खरेल, श्री राम राउत र श्री राजन अधिकारी
विपक्षी वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०५७।२।१८ को फैसला पुनरावलोकन गरी पाउं भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम निवेदन परी सोहि आधारमा निस्सा प्रदान भै आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर देहाय वमोजिम छ ::–
२. फुटुङ्ग गा.वि.स. वडा नं. ६ कि.नं. १५३ क्षे.फ.१–११–३ जग्गाको जग्गाधनी काठमाडौं जिल्ला.मरुहिटि टोल बस्ने गोविन्द राजवाहकको मृत्यु भै सो जग्गाको हक खाने निजको छोरा ऋषभप्रसाद राजवाहक र जग्गाको जोताहा का.जि.ज्याबहाल बस्ने बिष्णुकुमारी श्रेष्ठ भएकोमा निज विष्णु कुमारीले जग्गाधनीको रोहवरमा मेरा पिता इश्वरीवहादुर प्रधानलाई जोताहा कायम गरी दिनु भनी २०३७ साल चैत्र २७ गते मोहियानी छोडपत्रको लिखत गरी दिएकोले लिखतको मिति देखि नै उक्त जग्गा पिता इश्वरीवहादुर प्रधानले नै जोतभोग चलन गरी आउनु भएकोमा पिता आफ्नो कालगतिले परलोक भएदेखि मृतकको हकखाने हामी हकदारले जोत भोग गरी आएको हुंदा उक्त जग्गाको जोताहा विष्णु कुमारीको नाउ कट्टा गरी मृतक इश्वरीवहादुरका छोरा महेश्वर प्रधान नावालक भएकोले निजको संरक्षक अविवाहित दिदीहरु मध्ये म जेठी शान्ति प्रधानका नाउंमा जोताहा मोही कायम गरी पाउं भन्ने वादी दावी ।
३. कि.नं. १५३ को जग्गा मिति २०३७।१२।२७ को मोहियानी छोडपत्र अनुसार सोहि मिति देखि इश्वरीवहादुर प्रधानले नै जोत कमोद गरी भोग चलन गरी आएको हुंदा महेश्वर प्रधान नावालक भएकोले निजको संरक्षक भै बसेकी शान्ति प्रधानका नाउंमा जोताहा मोही कायम गरी मेरो नाउँ जोताहा मोहीबाट हटाई पाउं भनी मिति २०४९।६।४ मा बिष्णु कुमारी श्रेष्ठले गरी दिएको सनाखत ।
४. मेरो जग्गाको मोही बिष्णु कुमारी श्रेष्ठ नै हो भनी मिति २०५०।१।२ मा जग्गाधनी ऋषभप्रसाद राजवाहकले वयान सरह दिएको निवेदन ।
५. जग्गाको रेखदेख हेरचाहको काम केही नगरी लापरवाही गरीएवाट यसो गर्नु भएन भन्दा उक्त जग्गाको मोही म हुं । उक्त जग्गा नकमाई वाझो राखे पनि तिमिलाई सरोकार छैन भनी शान्ति प्रधानले भनेबाट जग्गाको जोतकमोद तथा रेखदेख मैले नै गरी आएकोले मोहियानी हक छाड्न मञ्जुर छैन भन्ने समेतको विष्णु कुमारीको २०५०।१।२ को निवेदन ।
६. साविक मोही बिष्णु कुमारी श्रेष्ठ हुन् । उक्त जग्गा १०, २० वर्ष अघिदेखि इश्वरीवहादुर प्रधानले र पछि शान्ति प्रधानले जोतभोग गरी आएकी छन् भन्ने समेतको सर्जमिन मुचुल्का ।
७. मिति २०३७।१२।२७ मा मोही छोडपत्र गरी इश्वरीवहादुर प्रधानलाई गरीदिएको कागज मेरो समेत रोहवरमा भएको घरायसी कागज हो । रकम लिने दिने गरी शान्ति प्रधानलाई मोहियानी हक नै दिने भन्ने शर्त राखेको होइन भन्ने समेतको बिष्णु कुमारीको वा.श्यामवहादुर श्रेष्ठले गरेको वयान ।
८. भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(४) (क) अनुसार साविक मोहीले एक पटक जग्गा कमाउन छाडि कागज समेत गरेको देखिंदा पुनः उक्त जग्गामा निजले मोही हक कायम गर्न सक्ने अवस्था नभएको र प्रमाण ऐन २०३१ को दफा ३४ ले प्रतिवादीहरुलाई विवन्धन समेत लाग्ने हुंदा भूमि सम्बन्धी ऐन २०२१ को दफा ३४ बमोजिम कि.नं. १५३ को क्षे.फ. १–११–३ जग्गाको साविक मोही कट्टा गरी माग वमोजिम नावालक महेश्वर कुमार प्रधानको नाउमा मोही कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय, काठमाडौको निर्णय ।
९. भूमिसुधार कार्यालय काठमाडौंको फैसलामा अ.वं. १८४ क १८५, र १८५ क को देहाय १ को प्रष्ट त्रुटी भएको हुंदा सो फैसला वदर गरी मेरो पुनरावेदन जिकिर अनुसार इन्साफ पाउं भन्ने समेतको बिष्णु कुमारी श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
१०. भूमिसुधार कार्यालय काठमाडौंवाट भएको विवादित फैसला वदर गरी बिपक्षीको सम्पूर्ण दावी निवेदन खारेज गरी पाउं भन्ने समेतको ऋषभप्रसाद राजवाहकको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
११. भूमिसम्बन्धी ऐन २०२१ को दफा २६ क को परिप्रेक्ष्यमा शुरु निर्णय विचारणीय हुंदा छलफलको निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम बिपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।
१२. मोही हक हस्तान्तरण नै हुन नसक्ने कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा केवल लिखतका आधारवाट मोहीले उनाउ व्यक्तिलाई मोही हक छाडी दिएं भनी गरी दिएको कागज मात्रका आधारमा मोही कायम गराउने गरेको शुरु फैसला कानून सम्मत मान्न मिलेन । २०३७।१२।२७ को लिखतको आधारमा साविक मोही लगत कट्टा गरी मोहीले सिफारिश गरेको व्यक्तिको छोराको नाउमा नामसारी गर्ने गरेको भूमिसुधार कार्यालयको २०५०।५।८ को फैसला वदर भै उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
१३. दर्तावाला मोहीले जग्गा नजोति अर्को व्यक्तिलाई जोत्न दिई आफू बिचमा बसी बालीमात्र खाने गर्दछ भने खास जग्गा कमाउने व्यक्ति मोही हुने व्यवस्था ऐनको दफा २५(४) ले गरेको छ । जग्गाधनीले मोहीको मृत्युपछि सन्तान छोरा स्वास्नीलाई मोही रोज्न पाउने किसिमको मुद्दा होइन । नावालक महेश्वरको संरक्षक शान्ति प्रधानका नाउँमा जोत कायम गरीदिन सम्बन्धित गाउँ विकास समितिले सिफारिश गरेको छ । संधियार लगायतका सर्जमिनका मानिसहरुले हामीले जोति कमाई आएको भनेका छन् । तसर्थ पुनरावेदन अदालतको फैसला बदर गरी शुरु फैसला सदर कायम गरी पाउं भन्ने समेतको वादीको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
१४. घरसारको कागज मेरो रोहवरमा भएको हो भनी जग्गाधनी ऋषभप्रसाद राजवाहकले भनेकोवाट निजले समेत उक्त कागजमा सहिछाप गरेकोमा सावित भएको देखिन्छ । साथै बिष्णु कुमारीले पनि उक्त जग्गाको मोही हक इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरीदिएको तथ्यलाई स्वीकार गरेको पाइन्छ । उक्त छोडपत्र पश्चात जग्गा वर्षौसम्म ईश्वरी प्रधानले जोती कमाई आएको तथ्य पनि सर्जमिन लगायतका कागजवाट पुष्टि भै राखेको सन्दर्भमा प्रमाण ऐन २०३१ को दफा ३४ मा उल्लेखित कुनै व्यक्तिले लेखेर, बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भनि विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिवाट कुनै काम गराए वा हुन दिएमा निज सो व्यक्तिका वीचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनि निजले खण्डन गर्न पाउँदैन भन्ने कानूनको सन्दर्भमा जग्गाधनी र मोही दुवैलाई उक्त विवन्धनको सिद्धान्त लाग्ने हुंदा छलफलको लागी अ.वं.२०२ नं. बमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१५. मैले मोहियानी हक छाड्न मञ्जुर छैन । तामेलीमा राखी पाउं भनी निवेदन दर्ता गराई सकेको छु । मोहीले मोहियानी हस्तान्तरण गर्न सक्दैन । कानूनी तथ्यमा विवन्धन आकर्षित नहुने भनी ने.का.प. २०४३ नि.नं. २७८९ मा सिद्धान्त प्रतिपादन भएको छ । मोही हुन भूमि सम्बन्धी ऐनको दफा ३४ वमोजिम कवुलियत भरपाइ हुन आवश्यक भएको र मोही परिवर्तन हुन पनि सक्दैन । जग्गा मैले जोत्न छोडेको छैन । पुनरावेदन निरर्थक छ भन्ने समेत व्यहोराको प्रतिवादी विष्णु कुमारी श्रेष्ठको लिखित प्रतिवाद ।
१६. मोहीले हक हस्तान्तरण गर्न सक्ने कानूनी व्यवस्था छैन । जोताहाको महलमा बिष्णु कुमारी श्रेष्ठको नाउ छ । कायम रहेको मोही मरेमा पनि भूमि सम्बन्धी ऐनको दफा २६ बमोजिम स्वास्नी, पति वा छोरा मध्ये एकलाई पत्याउन अनिवार्य छ । दफा ३४ बमोजिमको कवुलित छ भन्ने वादी दावी छैन । पुनरावेदन अदालतको निर्णय कायम राखि पाउं भन्ने व्यहोराको ऋषभप्रसाद राजवाहकको लिखित प्रतिवाद ।
१७. पिता ऋषभप्रसाद राजवाहक २०५३।२।८ मा परलोक हुनु भएकोले मुद्दा सकार गरी पाउं भनी शेखरप्रसाद दलीको निवेदन परी मुद्दा सकार गरेको ।
१८. प्रतिवादी बिष्णु कुमारीले पटक पटक निवेदन दिई आफूले व्यवहारमा कमाउन छोडी १२।१३ बर्ष अगाडि ईश्वरीवहादुर प्रधानलाई जग्गा कमाउन दिई आफूले जग्गा नकमाएको र निज परलोक भै प्रस्तुत मुद्दा निजका छोरा नावालक महेश्वर प्रधानको संरक्षिका भै शान्ति प्रधानले समेत कमाई आएको र बिष्णु कुमारी जग्गाधनी र खास जग्गा जोत्नेको बीच बसी आएको देखिंदा शुरु भूमिसुधार कार्यालय काठमाडौंको २०५०।५।८को फैसलाले विष्णु कुमारीको नामको मोहियानी लगत कट्टा गर्ने गरेको लगत समेत उल्टी गर्ने गरेको पुनरावेदन अदालत पाटनबाट मिति २०५२।८।२ मा भएको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । अत विवादित कि.नं. १५३ को १–११–३ जग्गाको साविक मोही कट्टा गरी माग वमोजिम नावालक महेश्वर प्रधानको नाउमा मोही कायम हुने ठहर्याएको शुरु भूमिसुधार कार्यालय काठमाडौंको २०५०।८।५ को फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५७।२।१८ को फैसला ।
१९. म निवेदिका बिष्णु कुमारी श्रेष्ठले २०३७।१२।२७ मा गरी दिएको छोडपत्र र २०४९।४।६ मा रुपैंया बुझी लिई मोही हक छाडिदिएँ भनी गरेको कागजको आधारमा बिपक्षीको नाउमा मोहियानी हक स्थानान्तरण गर्ने गरी भूमिसुधार कार्यालय काठमाडौंले गरेको निर्णय सदर गरेको यस अदालतको फैसला भूमि सम्बन्धी ऐन २०२१ को दफा २६ क विपरीत छ । बिपक्षीलाई मोही कायम गर्न मलाई मञ्जुर छैन भनी म निवेदीका र जग्गाधनी ऋषभप्रसाद राजवाहकले निवेदन गरेकोमा त्यसको वेवास्ता गरी भएको फैसला ने.का.प. २०४२, नि.नं. २४८०, पृ.८२३, ने.का.प. २०५४, नि.नं. ६४६६, पृ.६३४ समेतमा प्रकाशित नजीरको प्रतिकूल समेत भएको हुंदा प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान भएकाले पुनरावलोकन गरी पाउं भन्ने विष्णु कुमारी श्रेष्ठको यस अदालतमा दायर हुन आएको निवेदन ।
२०. यस अदालतको मिति २०५७।२।१८ को फैसला ने.का.प. २०५४, नि.नं. ६४६६, पृ.६३४ मा प्रकाशित मोही पजनी मुद्दामा यस अदालतवाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेकाले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने कुराको निस्सा प्रदान गरिएको छ । निर्णयको लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६ को उपनियम (१) अन्तर्गत पूर्ण इजलासमा पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२।४ को आदेश ।
२१. न्याय प्रशासन ऐन २०४८ को दफा ११(१) (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने कुराको निस्सा प्रदान गरिएको छ भन्ने मिति २०५९।६।२।४ मा आदेश भएको देखिंदा सर्वोच्च अदालत नियमावली (संशोधन सहित), २०४९ को नियम ६(१) बमोजिम नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने सम्माननीय प्रधानन्यायाधीशको आदेश ।
२२. नियमानुसार पेश भै आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी विष्णु कुमारी श्रेष्ठको तर्फवाट विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने, अग्नी खरेल, राम राउत र राजन अधिकारीले विवादित कि.नं. १५३ को जग्गावाट विष्णु कुमारी श्रेष्ठले मोही छोडपत्रको लिखत गरिदिए पनि मिति २०५०।१।२ मा मोहियानी हक छाड्न मञ्जुर छैन भनी पुन निवेदन दिएकी छन् । मोहियानी हक प्राप्ती र समाप्तीको सम्बन्धमा ऐनले प्रष्ट कानूनी व्यवस्था गरेको अवस्थामा पहिले दिएको निवेदनलाई आधार मानी निर्णय गर्न मिल्दैन । मोहियानी हक छोडपत्र गरिदिएकै आधारमा महेश्वर प्रधानका नाउमा मोहियानी हक कायम हुन आउने पनि होइन । विष्णु कुमारीले छोडपत्र गरी दिए पनि इश्वरीवहादुर प्रधान आफ्नो जीवनकालमा मोही कायम गर्न आएका छैनन् र बिष्णु कुमारीको नाउँको मोही लगत कट्टा भएको पनि छैन । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ क वमोजिम मोही हक खरिद विक्री समेत हुन नसक्ने हुदा यस अदालतवाट मिति २०५७।२।१८ मा भएको फैसला मिलेको छैन । पुनरावेदन अदालत पाटनको फैसला कायमै रहनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस तथा बिपक्षी नावालक महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानको तर्फवाट विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र युवराज भण्डारीले विवादित कि.नं. १५३ को जग्गा विष्णु कुमारीले इश्वरीवहादुर प्रधानलाई मिति २०३७।१२।२७ मा छोडपत्र गरी दिंदा जग्गाधनी ऋषभप्रसाद राजवाहक साक्षी वसेका छन् । मेरो पक्षले २०३७ साल भन्दा अगाडि देखि नै जग्गा जोतभोग गरी आएको छ । निवेदिकाले आफूले कमाई आएको भन्न सक्नु भएको छैन। जग्गाधनी र मोही बिष्णु कुमारी श्रेष्ठले मेरो पक्षलाई मोही स्वीकार गरी मिति २०३८।३।२ मा भूमिसुधार कार्यालयमा संयुक्त रुपमा निवेदन दिएको अवस्था छ । प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(४) को खण्ड (क) को अवस्थां विद्यमानता रहेकाले निस्सा दिएको आदेशमा उल्लेख भएको नजीर रहेको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा विलकुल भिन्नता रहेको हुंदा रुलिङ्ग वाझिएको भन्न मिल्दैन । संयुक्त इजलासको फैसला कायमै रहनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
२३. फुटुङ्ग गा.वि.स. वार्ड नं. ६ कि.नं. १५३ को क्षे.फ. १–११–३ जग्गा जग्गाधनी ऋषभप्रसाद राजवाहकको रोहवरमा जोताहा विष्णुकुमारी श्रेष्ठले मिति २०३७।१२।२७ मा पिता इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिई पिताले भोगचलन गरी आउनु भएको र पिताको परलोक पछि हालसम्म हामीहरुले भोगचलन गरी आएको हुँदा उक्त जग्गाको जोताहा लगतवाट विष्णु कुमारीको नाउ हटाई इश्वरीवहादुरका छोरा नावालक महेश्वर प्रधानको संरक्षक दिदी म शान्ति प्रधानका नाउमा मोही लगत कायम गरी पाउं भन्ने माग दावी र उक्त जग्गा इश्वरीवहादुर प्रधानलाई लिखत गरी दिएको भएतापनि जग्गाको रेखदेख हेरचाहको काम केही नगरी लापरवाही गरेकाले जग्गाको जोत कमोद तथा रेखदेख मैले नै गरी आएको हुंदा मोहियानी हक छाड्न मञ्जुर छैन भन्ने विष्णु कुमारी श्रेष्ठको प्रतिवाद जिकिर रहेकोमा साविक मोही कट्टा गरी नावालक महेश्वर प्रधानको नाउमा मोही कायम हुने ठहर्याएको भूमिसुधार कार्यालय काठमाडौंको फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय काठमाडौंको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०५७।२।१८ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ११(१) को खण्ड (ख) को अवस्था विद्यमान रहेकाले पुनरावलोकन गरी पाउँ भनी विष्णु कुमारी श्रेष्ठको निवेदन परी मिति २०५९।६।२ मा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै मिति २०५९।१०।१५ को सम्माननीय प्रधानन्यायाधीशको आदेश वमोजिम प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखियो।
२४. विद्वान अधिवक्ताहरुले आ– आफ्नो वहसको क्रममा इजलास समक्ष व्यक्त गर्नु भएका तर्कपूर्ण अभिव्यक्तिहरुलाई दिृष्टिगत गर्दै मिसिल संलग्न कागज प्रमाण समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा विवादित कि.नं. १५३ को जग्गाको जग्गाधनीमा ऋषभप्रसाद राजवाहक र साविक मोहीमा विष्णु कुमारी श्रेष्ठ देखिन्छिन् । निज विष्णु कुमारी श्रेष्ठले मिति २०३७।१२।२७ मा विवादित कि.नं. १५३ को जग्गाको मोही हक जग्गाधनी ऋषभप्रसाद राजवाहकको रोहवरमा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र तत्पश्चात निज विष्णुकुमारी र जग्गाधनी दुवैले संयुक्त रुपमा मिति २०३८।३।२ मा इश्वरीवहादुर प्रधानका नाउँमा जोत कायम गरी पाउँ भनी भूमिसुधार कार्यालय काठमाडौंमा दरखास्त दिएको समेत देखिन्छ । इश्वरीवहादुर प्रधान परलोक भएपछि निजको नावालक छोरा महेश्वर प्रधानको हकमा निजको दिदी शान्ति प्रधानले उल्लेखित २०३७।१२।२७ को छोडपत्रलाई प्रमाण बनाई उक्त विवादित कि.नं. १५३ को जग्गाको जोताहा मोही आफ्नो नाममा कायम गरी पाउँ भनी भूमिसुधार कार्यालय काठमाडौंमा निवेदन दिई कारवाही चलाएको र विष्णु कुमारीले समेत मेरो नाउ जोताहा मोहीबाट हटाइ पाउ भनी मिति २०४९।६।४ मा भूमिसुधार कार्यालयमा उपस्थित भै सनाखत गरी दिएको पाइन्छ । तद्उप्रान्त जग्गाधनी ऋषभप्रसाद राजवाहक र विष्णु कुमारी श्रेष्ठले विवादित जग्गाको मोहियानी हक छाड्न मञ्जूर छैन भनी मिति २०५०।१।२ मा भूमिसुधार कार्यालयमा छुट्टा – छुट्टै निवेदन दिएको देखिन्छ । तर निजहरुले नै मिति २०३८।३।२ मा भुमिसुधार कार्यालयमा संयुक्त निवेदन दिंदा उक्त जग्गा २०३७ साल अगाडि देखि नै इश्वरीवहादुर प्रधानले जोती आएको कुरालाई स्वीकार गरेको र शान्ति प्रधानले आफ्नो नाउँमा मोही कायम गरी पाउँ भनी कारवाइ चलाई सके पश्चात पनि आफ्नो नाउँ जोताहा मोहीबाट हटाइ पाउँ भनी विष्णु कुमारी स्वयंले नै भूमिसुधार कार्यालयमा निवेदन दिइ सनाखत समेत गरेको देखिन आएकाले उक्त विवादित जग्गाको जोतकमोद बिष्णु कुमारीले नै गरी आएको भन्ने कुराको पुष्टी हुन सकेको देखिदैन । बरु निजले जग्गा जोत्न छाडी जग्गाको जोतकमोद गर्ने काम इश्वरीवहादुर प्रधानलाई दिएको तथ्य विवादरहित देखिन आउंछ ।
२५. उपरोक्त तथ्यहरुवाट यी बिष्णुकुमारीले विवादित जग्गा जोत्न छाडी इश्वरीवहादुर प्रधानलाई जोत्न दिएको स्पष्ट देखिन आउंछ । रकम लिने दिने गरी शान्ति प्रधानलाई मोहियानी हक नै दिने भन्ने शर्त राखेको होइन भनी विष्णु कुमारीको वा.श्यामवहादुर श्रेष्ठले गरी दिएको वयान र जग्गाको रेखदेख हेरचाहको काम केही नगरी लापरवाही गरिएवाट मोहियानी हक छाड्न मञ्जुर छैन भनी विष्णु कुमारीले भूमिसुधार कार्यालयमा दिएको निवेदनवाट समेत जग्गा यी विष्णु कुमारीले नकमाई अरुलाई कमाउन दिएको भन्ने कुराको पुष्टी हुन आउंछ । जग्गा जोत्न अरुलाई दिने मोहीका सम्बन्धमा निज मोहीको हैसियत के हुने भन्ने तर्फ हेर्दा भूमि सम्बन्धी ऐन २०२१ को दफा २५(४) को खण्ड (क) मा कसैले जग्गावालावाट कमाउन लिएको जग्गा आफ्नो वा आफ्नो परिवारको श्रमले नकमाई अरु कसैलाई कमाउन दिएको रहेछ भने सो जग्गाका सम्बन्धमा सो खास कमाउने व्यक्तिको विचमा रही खाने व्यक्तिको सबै अधिकार समाप्त हुने कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्था वमोजिम नै यस अदालत संयुक्त इजलासवाट विवादित जग्गाको मोहीमा नावालक महेश्वर प्रधान कायम हुने ठहरी फैसला भएको समेत पाइयो।
२६. प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासवाट भएको मिति २०५७।२।१८ को फैसला ने.का.प. २०५४ नि.नं. ६४६६ पृष्ठ ६३४ मा प्रकाशित मोही पजनी मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको भन्ने आधारमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै आएको देखिन्छ। सो मोही पजनी मुद्दामा मोही पृथ्वीमान तामाङ्ग भई विवादित जग्गा निजले नजोती झपटवहादुर दहालले रु. ६,०००। मा खरीद गरी जोतखन गरेकाले भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(४) को खण्ड (क) वमोजिम मोही हक समाप्त गरी पाउँ भनी जग्गाधनीको फिराद परेकोमा पृथ्वीमानले झपटवहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर २०४६ सालमा वाली भराई पाउं भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेकाले मिति २०४४।३।१० का लिखतको आधारमा मोही हक छोडेको भन्न सक्ने अवस्था देखिंदैन भनी फैसला भएको पाइन्छ । तर प्रस्तुत मुद्दाको तथ्य सो मुद्दाको तथ्यसंग फरक देखिई यि निवेदीका विष्णु कुमारीले विवादीत कि.नं. १५३ को जग्गाको मोही हक मिति २०३७।१२।२७ मा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र सो छोडपत्रको आधारमा महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानले आफ्नो नाउमा मोही कायम गराई पाउं भनी कारवाई चलाएपछि मात्र मोहियानी हक छाड्न मञ्जुर छैन भनी जिकिर लिएको अवस्था देखिएकाले उल्लेखित मोही पजनी मुद्दा र प्रस्तुत मुद्दामा रहेको तथ्यमा समानता देखिन आउंदैन ।
२७. अतः उपरोक्त विवेचनाका आधारमा यस अदालतवाट मिति २०५९।६।२ मा निस्सा प्रदान गरेको आदेशमा उल्लेख गरीएको प्रतिपादित सिद्धान्तमा रहेको तथ्य र प्रस्तुत मुद्दामा भएको तथ्य नै फरक फरक देखिन्छ । प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ क आकर्षित हुने नभै ऐ.ऐनको दफा २५ (४) (क) को व्यवस्था नै आकर्षित हुने हुंदा पुनरावलोकनको निस्सा दिने आदेशमा उल्लेख गरीएको प्रतिपादित सिद्धान्त प्रतिकूल यस अदालत संयुक्त इजलासवाट फैसला भएको भन्न सकिने अवस्था नरहेकाले पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२ को आदेश संग सहमत हुन सकिएन । न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा जुन आधारमा पुनरावलोकन गर्ने आदेश गरेको हो, सोही आधार र सम्बद्ध बिषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था समेत देखिएकाले प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा आधार लिइएको नजीर सान्दर्भिक देखिएन । प्रस्तुत मुद्दामा पुनरावलोकनको निस्सा प्रदान गर्दा लिइएको आधार नै सान्दर्भिक नदेखिई पुनरावलोकनको निस्सा दिएको परिधि भीत्र प्रस्तुत मुद्दा परेको नदेखिएकोले उक्त ऐनको दफा १३ बमोजिम मुद्दाको औचित्य र विषयवस्तुमा प्रवेश गरी यस अदालतको संयुक्त इजलासको मिति ०५७।२।१८ को फैसला पुनरावलोकन गरी हेर्न मिलेन । अतः पुनरावलोकन गरी पाउँ भनी निवेदिका प्रतिवादीले दिएको प्रस्तुत निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.चन्द्रप्रसाद पराजुली
न्या.मीनबहादुर रायमाझी
इति सम्बत् २०६० साल कार्तिक २७ गते रोज ५ शुभम. ………