निर्णय नं. ७१८६ – पुनरावलोकन गरी पाउं
निर्णय नं.७१८६ ने.का.प.२०६० अङ्क ३.४ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश...
निर्णय नं.७१८६ ने.का.प.२०६० अङ्क ३.४
पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री राम नगिना सिंह
माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु
सम्वत २०५९ सालको पु.व.नि.नं. ५७०
आदेश मितिः २०६०।४।१५।५
विषय :– पुनरावलोकन गरी पाउं ।
निवेदक
वादीः वसन्तकुमार वस्नेत समेत
विरुद्ध
विपक्षी
प्रतिवादीः मिनबहादुर बस्नेत समेत
मुद्दा :– बकसपत्र बदर (२०५४ सालको दे.पू.ई.नं. १२६) ।
§ वढी माननीय न्यायाधीशहरु रहेको इजलासबाट भएको निर्णय भन्दा कम संख्या रहेको माननीय न्यायाधीशहरुको इजलासको निर्णयको प्रतिकूलताले बेग्लै नजिर सिद्धान्त कायम गर्न नसक्ने हुंदा त्यस्तो निर्णयको आधारमा बढी माननीय न्यायाधीशहरुको इजलासको निर्णय पुनरावलोकन नसक्ने ।
(प्र.नं. १)
निवेदक वादी तर्फवाटः
विपक्षी प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
आदेश
यस्मा यस अदालत ७ सदस्यीय पूर्ण इजलासको मिति २०५८।५।१४ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को देहाय (ख) को आधारमा पुनरावलोकन गरी हेरी पाउं भनि प्रस्तुत निवेदन परेको देखिन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) ले सर्वोच्च अदालतले आफ्नो फैसला वा अन्तिम आदेशमा २ प्रकारको अवस्था मध्ये एकप्रकारको अवस्था विद्यमान रहेको देखिएमा आफ्नो फैसला वा अन्तिम आदेश पुनरावलोकन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । सो उपदफाको देहाय (क) मा मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दा किनारा भए पछि मात्र सम्बन्धित पक्षलाई थाहा भएको देखिएमा वा देहाय (ख) मा सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल निर्णय भएको देखिएमा भन्ने उल्लेख भएको छ । सो मध्ये निवेदकले ने.का.प. २०५४, अंक १, पृ. १, नि.नं. ६३०३ मा प्रतिपादित सिद्धान्त प्रतिकूल भएबाट प्रस्तुत मुद्दामा पुनरावलोकन हुनुपर्ने भनि जिकिर लिएको पाइन्छ। सो मुद्दा ५ जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासबाट निर्णय भएको देखिन आएको र प्रस्तुत मुद्दा ७ जना माननीय न्यायाधीशहरु रहेको पूर्ण इजलासबाट निर्णय भएको देखिन आउंछ । यसरी वढी माननीय न्यायाधीशहरु रहेको इजलासबाट भएको निर्णय भन्दा कम संख्या रहेको माननीय न्यायाधीशहरुको इजलासको निर्णयको प्रतिकूलताले बेग्लै नजिर सिद्धान्त कायम गर्न नसक्ने हुंदा त्यस्तो निर्णयको आधारमा बढी माननीय न्यायाधीशहरुको इजलासको निर्णय पुनरावलोकन हुन सक्ने देखिएन । अतः निवेदन माग बमोजिम पुनरावलोकन गरी प्रस्तुत मुद्दा हेरि रहनु पर्ने अवस्था विद्यमान नदेखिंदा माग बमोजिम पुनरावलोकनको निस्सा प्रदान गर्न मिलेन । कानून वमोजिम गर्नु ।
प्र.न्या.केदारनाथ उपाध्याय
न्या.गोविन्दबहादुर श्रेष्ठ
न्या. श्री कृष्णकुमार वर्मा
न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
न्या. श्री केदारप्रसाद गिरी
न्या. श्री राम नगिना सिंह
न्या. श्री सुशीला सिंह सिलु
इति सम्वत २०६० साल श्रावण १५ गते रोज ५ शुभम् … ।