May 12, 2003
Created by nepalarchives

निर्णय नं. ७१६५ – वाली मोही निष्कासन

निर्णय नं.७१६५     ने.का.प २०६० अङ्क १.२   संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५५ सालको दे.पु.नं. –– ४७७८...

निर्णय नं.७१६५     ने.का.प २०६० अङ्क १.२

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

संवत् २०५५ सालको दे.पु.नं. –– ४७७८

फैसला मितिः २०६०।१।२९।२

 

मुद्दा :वाली मोही निष्कासन ।

 

पुनरावेदक वादी : जिल्ला सप्तरी गा.वि.स.सकरपुरा वार्ड नं. १ बस्ने हरेन्द्रकुमार देव    

विरुद्ध

विपक्षी प्रतिवादी : ऐ.ऐ. बस्ने नारायण मंडल समेत

 

§  जग्गाधनीले जग्गा कमाउने मोहिका परिवारहरु मध्ये कस्लाई आफ्नो मोही कायम गर्ने हो ?भन्ने कुराको यकिन नगरि मोहिका पती , पत्नी वा छोरा सबैलाई मोही मान्न नमिल्ने ।

§  कानुनले नै मोहिको मृत्‍युपछी निजमा रहेको मोहियानी हक निजको पती , पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको कुनै एक व्यक्तिमा हस्तान्तरण हुन सक्ने भनी स्पष्ट तोकेको अवस्थामा मोहिका परिवारका सबै व्यक्तिहरुमा मोहियानी हक सर्न नसक्ने।

§  कुनै व्यक्तिमा रहेको मोहियानी हक कानुन बमोजिम मात्र अरुमा हस्तान्तरण  हुन सक्ने। कानुन बमोजिम प्रकृया पुरा नगरि पक्षहरुको व्यवहारबाट मात्र मोहियानी हकको प्रप्ती र समाप्ती हुन नसक्ने ।

§  मोहिको मृत्‍युपछी कानुन बमोजिम प्रकृया पुरा गरी निजका हकवालाहरु मध्ये कुनै खास व्यक्तिलाई मोही कायम नगरी साविक मोहिलाई प्राप्त मोहियानी हकबाट निजको शेषपछी निजका परिवारलाई बन्चित गर्न नमिलने ।

§  साविकदेखी जग्गा कमाउदै आईरहेको  मोहिको मृत्‍यु भएपछी पनि निज्का परिवारका सदस्यहरुले नै त्यस्तो जग्गा जोत भोग गरी खेती वाली लगाइने हक मोही नपत्याउन्जेल सम्म रही रहने हुँदा सो हकबाट निस्रित दायित्व पनि निजहरुले व्यहोर्नु पर्ने ।

§  साविक मोहिले कमाई आएको जग्गाको वाली निजको स्वास्नी छोराहरुले जग्गा कमाउन त्यागेको प्रमाण नभएसम्म निजहरुको पेटमा परेको मान्नु पर्ने हुँदा साविक   मोहिको मृत्‍यु भएपछी मोहिका स्वास्नी छोराहरुले जग्गाधनीलाई वाली बुझाउनु पर्ने कानुनी कर्तव्य मोही नपत्याउन्जेल पनि मोहियानी हक का दावेदारको हैसियतले स्वत: व्यहोर्नु पर्ने ।

§  जग्गाधनिद्वारा मोही नै नपत्याई साविक मोहिका स्वास्नी छोराहरु सबैलाई मोही मान्न कानुनत : नमिल्ने ।

§  मोहिका स्वास्नी छोराहरुलाई जग्गाधनीले मोही पत्याएको वा साविक मोहिका स्वास्नी छोराहरु मध्ये कसैबाट वाली बुझी भरपाई गरिएको भन्ने पनि नदेखिएको अवस्थामा कानुनत: मोहीको हैसियत नै प्राप्त नभएका म्रितक मोहिका स्वास्नी छोरालाई मोही मानि निजहरुलाई मोहियानी हकबाट निस्कासन गर्न नमिल्ने ।

 

फैसला

प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत राजविराजबाट मिति २०५४।१।२९ मा भएको फैसला उपर  न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर यस प्रकार छ :

२.    मेरा नाउंमा दर्ता रहेको जि.सप्तरी गा.वि.स.सकरपुरा वार्ड नं. ६ कि.नं. ४७ को  ०११५ ऐ.कि.नं. ६३ को ०१९१० ऐ.कि.नं. २०० को ०्९ जग्गाको मोही आनन्दी मंडल भै निजको मृत्युपछि विपक्षीहरुले आवाद गरी आएकोमा २०५१ सालको कुत मलाई नबुझाएको र सम्बन्धित निकायमा धरौट समेत नराखेकोले कुतको विगो रु.५२३६।७५ दिलाई भराई मोही निष्कासन गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

३.    दावीको जग्गा खांडो नदीको कटान क्षेत्र भित्रमा छ । वाली लाग्न सक्दैन ०० जग्गामा उव्जा भएको छ । सो को वाली वाड फाड गर्दै आएको छु भन्ने समेत व्यहोरको प्रतिउत्तर पत्र ।

४.  दावीको जग्गा मध्ये ०० जग्गा नदीकटानमा परेको कुरा सरजमिन समेतले भनेको हुंदा सो बाहेक अरु जग्गाको कुतको रु. ४९४९।७५ वादीले प्रतिवादीबाट भराई लिन पाउने र मोहियानी हक यथावत कायम रहने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सप्तरीको मिति २०५३।१।११ को फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन शुरु फैसला उल्टी गरी विपक्षीलाई मोहीबाट निष्कासन समेत गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र । ६.   भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम दावी परेपछि शुरु भूमि सुधार कार्यालय सप्तरीले मोही निष्कासन गर्नु नपर्ने आधार कारण नखुलाई मोही निष्कासन नगर्ने गरी गरेको निर्णय फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०५३।६।६ को आदेश ।

 ७.   दावीको जग्गाको मोही आनन्दी मंडल रहेको र निजको मृत्यु भई सकेको भन्ने समेत मिसिल कागजातबाट देखिंदा कानुन अनुसार जग्गाधनीले आनन्दी मंडलको पत्नि वा छोरा मध्ये कसै एकलाई पत्याई मोही कायम गर्नु पर्नेमा सो नगरी स्वर्गीय आनन्दी मंडलको पत्नि सितावति मंडल र आनन्दिकै छोरा नारायण मंडललाई मोही भनि प्रतिवादी कायम गरी माही नै एकिन कायम नगरी गरेको फिरादबाट इन्साफ हुन नसक्नेमा शुरु भूमि सुधार कार्यालय सप्तरीले इन्साफ गरी निर्णय गरेको उल्टी भै पुनरावेदन दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राज विराजको मिति २०५४।१।२९ को फैसला ।

 ८.   मोहीको मृत्युपछि निजको श्रीमती तथा छोराले संयुक्त रुपमा जग्गा जोती आएको र मोही नामसारी तर्फ पनि संयुक्त कारवाही चलाएको तथा प्रतिवादीहरुले मोहीको विवाद नै नउठाएकोले मोही रोज्नु पर्ने अवस्था नै नभएकोमा मोही नरोजी गरेको फिराद तथा पुनरावेदन खारेज हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुंदा उक्त फैसला उल्टी गरी वादी दावी बमोजिम मोही निष्कासन समेत गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदक वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

 ९.   वादीले प्रतिवादीहरुलाई मोहीको हैसियतले जग्गा जोती २०५१ सालको कुत नबुझाएको भनि फिराद परी मोही मानेको, प्रतिवादीहरुले भूमि सुधार कार्यालयमा कुत धरौट राखी मोहीको हैसियतमा विवाद नभएको अवस्थामा अदालत स्वयंले मोहीमा विवाद उठाई मुद्दा नै खारेज गर्ने ठहराएको पुनरावेदन अदालत राजविराजको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५८।८।२७ को   आदेश।

 १०.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान अधिवक्ता श्री जयनारायण हुजेदारले विवादको जग्गा कमाउने मोही आनन्दी मण्डलको मृत्युभएपछि सो जग्गा निजका स्वास्नी छोराहरुले कमाएकोमा विवाद छैन । साविक मोहीको मृत्युपछि जग्गाधनीले मोही पत्याउनु पर्नेमा नपत्याएको भन्ने जिकिर प्रतिउत्तर फिराउंदा तथा विपक्षीहरुले पुनरावेदन गर्दा समेत लिन सकेको छैन । पुनरावेदन अदालत आफैले जग्गाधनीले मोही पत्याउनु पर्नेमा नपत्याएको भनि विवादको सिर्जना गरी गरेको निर्णय त्रुटिपूर्ण छ । अरुको जग्गा कमाउनेले वाली नबुझाएको र धरौट समेत नराखेको अवस्थामा मोही निष्कासन हुनुसक्ने भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९ मा भएको कानूनी व्यवस्था अनुसारको दावी परेपछि मोही निष्कासन नगर्ने गरी निर्णय गर्दा कारण खोल्नु पर्नेमा कुनै कारण उल्लेख नगरी मोही निष्कासन नहुने ठहर गरेको शुरु सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुंदा उक्त फैसला उल्टी गरी वादी दावी बमोजिम मोही निष्कासन समेत गरिनु पर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री शिवराज सिलवालले साविक मोहीको मृत्यु भएपछि निजका स्वास्नी छोराहरु मध्ये कसलाई मोही पत्याउने हो सो पत्याएपछि मात्र मोही र जग्गा धनी बीचको सम्बन्ध कायम हुन सक्छ । जग्गाधनीले कसैलाई मोही नपत्याएको अवस्थामा साविक मोहीको स्वास्नी, छोराहरुको आचरण वा व्यवहारको आधारमा निजहरुलाई मोही मान्न मिल्दैन । मोही पत्याउनु पर्ने प्रक्रिया नै पूरा नगरी मोही निष्कासन गरि पाउं भनि परेको निवेदन नै कानूनसम्मत छैन । यसैले पुनरावेदन अदालतबाट भएको इन्साफ मनासिव हुंदा सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

 ११.   विद्वान अधिवक्ताहरुको उल्लेखित वहस जिकिर समेत सुनि निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा जग्गाधनी जामुनप्रसाद देवको नाउंको सप्तरी जिल्ला सकरपुरा गा.वि.स.वडा नं. ६ कि.नं. ४७६३ र २०० को जग्गाको मोही आनन्दी मण्डल भएको र निज मोहीको मृत्युपछि २०५१ सालको धानवाली नबुझाएको भनि निज मोहीको श्रीमती सीतावती र छोरा नारायण मण्डल समेत दुई जना उपर वाली भराई मोही निष्कासन गरी पाउं भनि नालस परेको देखिन्छ । शुरु निर्णय गर्ने भूमि सुधार कार्यालय सप्तरीबाट दावीको जग्गा मध्ये दुई कठा जग्गा नदी कटानमा परेकोले सो बाहेक अरु जग्गाको हकमा कूत वापत रु. ४९४९।७५ भराई दिने र मोही निष्कासन भने नहुने गरी निर्णय भएको पाइन्छ । सो उपर परेको पुनरावेदनमा पुनरावेदन अदालत राजविराजबाट मोहीको मृत्युपछि जग्गा धनीले मोहीका पत्नी वा छोरा मध्ये कसैलाई पत्याई मोही कायम गर्नु पर्नेमा सो नगरी गरेको फिरादबाट इन्साफ गरेको भूमि सुधार कार्यालय सप्तरीको निर्णय उल्टी गरी पुनरावेदन दावी खारेज हुने गरी फैसला भए उपर प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।

१२.   यस परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा निम्न लिखित दुई प्रश्नमा निर्णय दिनु पर्ने देखियो :– 

(१)   साविक मोही मरेपछि जग्गाधनीले मोहीका हकवालाहरु मध्ये कसैलाई मोही नपत्याएको अवस्थामा मोहीका एकासगोलका श्रीमती वा छोराहरुलाई स्वतः मोही मानी निजहरुबाट कानून बमोजिम कुत भरी पाउन तथा निजहरुले कुत नबुझाएको अवस्थामा निजहरुलाई मोही निष्कासन समेत गन मिल्छ मिल्दैन

(२)   प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ छैन? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन

१३.  माथि उल्लेखित पहिलो प्रश्न तर्फ बिचार गर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाले मोही मरिसकेपछि निजको हक हस्तान्तरणको लागि मोहीको पति पत्नी वा छोराहरु मध्ये कसलाई मोही पत्याउने भन्ने कुराको निर्णय गर्ने अधिकार जग्गाधनीलाई प्रदान गरेको देखिन आउंछ । जग्गाधनीले मोहीको सगोलका परिवार मध्ये जग्गा कमाउन सक्ने अवस्थाका पति, पत्नी वा छोराहरु मध्ये कसलाई आफ्नो जग्गा कमाउन दिने ? भन्ने निरोपण नगरेको स्थितिमा मोहीका परिवार मध्ये कसलाई मोही पत्याएको भनी मान्ने भन्ने प्रश्न उठ्न सक्छ । जग्गाधनीले जग्गा कमाउने मोहीका परिवारहरु मध्ये कसलाई आफ्नो मोही कायम गर्ने हो ? भन्ने कुराको यकिन नगरी मोहीका पति, पत्नी वा छोरा सबैलाई मोही मान्न मिल्दैन । कानूनले नै मोहीको मृत्युपछि निजमा रहेको मोहियानी हक निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले  पत्याएको कुनै एक व्यक्तिमा हस्तान्तरण हुन सक्ने भनि स्पष्ट तोकेको अवस्थामा मोहीका परिवारका सबै व्यक्तिहरुमा मोहियानी हक सर्न सक्ने देखिदैन । भूमि सम्बन्धी ऐन, २०२१ ले मोहीको मोहियानी हक कानून बमोजिम प्राप्त हुने र कानून बमोजिम मात्र समाप्त हुने कानूनी हकको रुपमा स्थापित गरेको देखिन्छ । यस अनुसार कुनै व्यक्तिमा रहेको मोहियानी हक कानून बमोजिम मात्र अरुमा हस्तान्तरण हुन सक्छ । कानून बमोजिम प्रक्रिया पूरा नगरी पक्षहरुको व्यवहारबाट मात्र मोहियानी हकको प्राप्ति र समाप्ति हुन सक्ने देखिंदैन । साविक मोहीको मृत्युपछि निजमा रहेको मोही हक कानूनद्वारा निर्धारित प्रक्रिया अनुसार गरी निजका पति पत्नी वा छोराहरु मध्ये कसमा हस्तान्तरण हुने हो भन्ने कुरा सर्व प्रथम निरोपण हुनुपर्ने र त्यसपछि मात्र जग्गाधनी र मोहीको अधिकार र दायित्वको सिर्जना हुन सक्ने देखिन  आउंछ । मोहीको मृत्युपछि कानून बमोजिमको प्रक्रिया पूरा गरी निजका हकवालाहरु मध्ये कुनै खास व्यक्तिलाई मोही कायम नगरी साविक मोहीलाई प्राप्त मोहियानी हकबाट निजको शेषपछि निजका परिवारलाई बञ्चित गर्न मिल्ने देखिदैन । यस्तो भएतापनि साविकदेखि जग्गा कमाउंदै आइरहेको मोहीको मृत्यु भएपछि पनि निजका परिवारका सदस्यहरुले नै त्यस्तो जग्गा जोत भोग गरी खेती वाली लगाइने हक मोही  नपत्याउन्जेल सम्म रही रहने हुंदा सो हकबाट निसृत दायित्व पनि निजहरुले व्यहोर्नु पर्छ र साविक मोहीले कमाई आएको जग्गाको वाली निजको स्वास्नी छोराहरुले जग्गा कमाउन त्यागेको प्रमाण नभएसम्म निजहरुको पेटमा परेको मान्नु पर्ने हुंदा साविक मोहीको मृत्यु भएपछि मोहीका  स्वास्नी छोराहरुले जग्गाधनीलाई वाली बुझाउनु पर्ने कानूनी कर्तव्य मोही न पत्याउन्जेल पनि मोहियानी हकका दावेदारको हैसियतले स्वतः व्यहोर्नु पर्ने देखिन आउंछ । त्यस्तो अवस्थामा मोहीका स्वास्नी छोराहरुले वाली बुझाउनु पर्ने दायित्व व्यहोर्नु नपर्ने अनुमान गर्न मिल्ने देखिन आउंदैन ।

१४.  माथि गरिएको विवेचनाको आधारमा दोश्रो प्रश्नतर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा विवादित जग्गा साविकमा विपक्षी प्रतिवादीहरुका पति पिता आनन्दी मण्डलले कमाई आएको भन्ने देखिन्छ । निजको मृत्युपछि जग्गाधनी पुनरावेदक वादीले मोहीको पत्नी तथा छोरा मध्ये कसलाई आफ्नो मोही मान्ने भन्ने सम्बन्धमा कानून बमोजिम मोही पत्याउने प्रक्रिया पूरा गरेको भन्ने देखिदैन । जग्गाधनीद्वारा मोही नै नपत्याई साविक मोहीका स्वास्नी छोराहरु सबैलाई मोही  मान्न कानूनतः मिल्ने देखिन आउंदैन । मोहीका स्वास्नी छोराहरुलाई जग्गाधनीले मोही पत्याएको वा साविक मोहीका स्वास्नी छोराहरु मध्ये कसैबाट वाली बुझी भर्पाई गरिएको भन्ने पनि नदेखिएको अवस्थामा कानूनतः मोहीको हैसियत नै प्राप्त नभएका मृतक मोहीका स्वास्नी छोरालाई मोही मानी निजहरुलाई मोहियानी हकबाट निष्कासन गर्न मिल्ने देखिन आएन । यसर्थ विपक्षी प्रतिवादीहरुलाई मोहियानी हकबाट निष्कासन गरी पाउं भन्ने वादी दावी खारेज गरेको हदसम्म पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्छ। साविक मोही आनन्दी मण्डलको मृत्यु भएपछि पनि निजकी पत्नी तथा छोरा विपक्षीहरुले नै विवादित जग्गा कमाई रहेको भन्ने देखिएको स्थितिमा साविक मोहीको मृत्यु भएको कारणले जग्गा कमाउने व्यक्तिहरुले जग्गावालालाई बाली बुझाउन नपर्ने भन्न नमिल्ने हुंदा नदी कटानमा परेको जग्गा वाहेक गरी बांकी जग्गाको बाली विपक्षी प्रतिवादीहरुबाट पुनरावेदक वादीले भराई लिन पाउने ठहर गरेको हदसम्म शुरु भूमि सुधार कार्यालय सप्तरीको निर्णय मनासिव देखिंदा सदर हुने ठहर्छ । विवादित जग्गाको वाली विगोको तर्फको दावी समेत खारेज गर्ने गरेको हदसम्म पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी हुने  ठहर्छ । मोही निष्कासन हुनु पर्छ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई   दिनु । 

 

उपर्युक्त रायमा सहमत छु । 

 

न्या.चन्द्रप्रसाद पराजुली

 

 

इति संवत् २०६० साल वैशाख २९ गते रोज २ शुभम् ––––