September 24, 1982
Created by nepalarchives

निर्णय नं. १५७० – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १५७०    ने.का.प. २०३९ अङ्क ७   फुलबेञ्च सम्माननीय प्र.न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत्...

निर्णय नं. १५७०    ने.का.प. २०३९ अङ्क ७

 

फुलबेञ्च

सम्माननीय प्र.न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३७ सालको रि.फू.नं. ५९

आदेश भएको मिति : २०३९।६।८।६ मा

निवेदक      : जि.सुनसरी, हरिनगर गा.पं.वडा नं. ९ बस्ने मौलिक मियाँ अन्सारीसमेत

विरुद्ध

विपक्षी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सुनसरीसमेत

बिषय :  उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)                सबूत प्रमाणको आधारमा भू.सु.अ.ले तथ्यको निरोपण गरेकोमा सो तथ्य भित्र पसी पुनरावेदन तहबाट हेरेको जस्तो गरी भू.सु.अ.को निर्णय तथ्ययुक्त छ छैन भनी रिट क्षेत्रबाट हेर्न नमिल्ने ।

(प्रकरण नं. १०)

आदेश

न्या.धनेन्द्रबहादुर सिंह

१.     प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३७।९।५।६ मा भएको निर्णय दोहर्‍याइपाउँ भनी निवेदकहरुले न्यायिक समितिमा चढाएको बिन्तिपत्रमा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख)बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याइदिन हुकुमबक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट ०३८।१।१६ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    तथ्य यसप्रकार रहेछ : जग्गा जोतआवाद गरिरहेको अवस्थामा प्रत्यर्थीहरुले जग्गा जोत आवाद गर्न बाधा गरी मोही बेदखल गरेको भन्नेसमेत वादी, बेदखल गरेको छैन भन्नेसमेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा मोही बेदखल गरेको छैन भन्न नमिल्ने हुँदा ज.ध.लाई मोही बेदखल गरे बापत ५। पाँच जरिवाना हुने ठहर्छ भन्ने समेत प्रत्यर्थी भू.सु.कार्यालयको निर्णय रहेछ ।

३.    रिट निवेदन जिकिर यस प्रकार रहेछ : भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को उपदफा १ बमोजिमको कबुलियत छ भन्न र बाली बुझाएको रसिद छ भन्न, लेख्न सकेको छैन र दफा २५ को उपदफा २ समेतको कानूनी त्रुटि गर्दै ०२५ सालमा नापी भई आफूले कमाएको जग्गाको विपक्षी दल्लु मियाँले मोहियानी हकको प्रमाण पाई सकेको र प्रकाशित अनुसूची २ मा उल्लेख गरिएको जग्गा भन्दा बढी जग्गाको मोहियानी प्रमाणपत्र पाएको देखिएको छ । अनुसूची २ मा ३ कित्ता जग्गा विगाहा १० कमाएको भन्ने व्यक्तिले कि.नं.१८, ८५ र ८८ समेत ३ कित्ता जग्गाको जग्गा बिगाहा १११८ १/८ को मोहियानी हकको प्रमाणपत्र पाएको छँदै कि.नं.८० को जग्गाधनी हामी नभएकोमा जग्गाधनी भन्दै हामीहरुको मात्र जग्गाको विपक्षीलाई कि.नं.१७ को समेत मोही ठहर्नाले भनिएकोबाट जग्गा विगाहा ३१९ १/२ को मोही कायम गरिएकोबाट जग्गा विगाहा १११११ बढी जग्गाको मोही कायम गरिएको निर्णय बदरभागी छ भन्ने समेत उल्लेख गरको रहेछ।

४.    प्रत्यर्थीहरुबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत ०३६।१०।२२ को आदेश ।

५.    प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफमा सबूत प्रमाण र फिल्ड चेकको आधारबाट समेत न्यायिक दृष्टिकोंण राखी निर्णय भएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत उल्लेख भएको रहेछ ।

६.    प्रत्यर्थी दल्लु मियाँको नाउँमा ०३७।२।२१।३मा तामेल भएको सूचनाको म्यादगुजारी बसेका रहेछ ।

७.    यसमा जग्गा जोत आवाद गरी रहेको अवस्थामा विपक्षीहरुले आवाद गर्न बाधा गरी मोही बेदखल गरे भन्ने समेत वादी, बेदखल गरेको छैन भन्ने समेत प्रतिवादी भएकोमा वादी मोही ठहर्नाले मोही बेदखल गरेको छैन भन्न नमिल्ने हुँदा बेदखल गरे बापत रु.५ पाँच जरिवाना हुने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेको देखिन्छ । प्रस्तुत केशमा अधिकार प्राप्त अधिकारीले कानून बमोजिम निर्णय गरेको देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने समेत ०३७।९।५।६ को डिभिजनबेञ्चको आदेश ।

८.    यसमा निवेदन तर्फबाट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले प्रत्यर्थी दल्लु मियाँले जोत्दै नजोतेको जग्गाको समेत मोहियानी हक ठहराई निवेदकहरुले बेदखल गरेको ठहराएको मिल्दैन । भू.सं.ऐन, ०२१ को दफा ३४ समेतको विपरीत मोही कायम गरेको मिलेन भन्ने समेत र प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्रत्यर्थी दल्लु मियाले भरेको १ नं.फारामको साविक चौहद्धी भित्रको जग्गा हाल सर्बे नापीमा कुन कुन कित्ता भित्र पर्छ भनी नापी दारको प्रमाण समेतको आधारमा अधिकार प्राप्त व्यक्तिले गरेको निर्णय मनासिव छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

९.    यसमा निवेदकको वा.शिवप्रसाद शर्मा र विपक्षीको वा.सुधिरकुमारलाई ०३९।५।२२ गते रोहवरमा राखी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा निवेदक मौलिम मियाको नाउँमा साविक दर्ता रहेको ज.बि.११६० को १ नं.फाराम भरी ४ नं.जो.अ.नी.प्राप्त गरी भोगी आएको हाल सर्भे नापीमा कि.नं.१७, १८, ८०, ८५ र ८८ समेत  ५ कित्ता भई नापजाँच भएको । सो मध्ये कि.नं.१८८५८८ को मोही प्रमाणपत्र पाएको छु कि.नं.१७ र ८० मा समेत ०३४।३।७ गते मोही बेदखल गरे भन्ने समेत प्रत्यर्थी दल्लु मियाँको उजुर परेकोमा कि.नं.८५ र ८८ को मात्र मोही हुन्, बेदखल गरेको छैन भन्ने समेत प्रतिवाद भएकोमा २ नं.अनुसूचीको आधारमा चौहद्धी छुटाउँदा नापी टोली पठाउँदा नापीले चौहद्धी भित्र देखाएको कि.नं.१७, ८०, ८५ र ८८ समेतको प्रत्यर्थी दल्लु मियाँ मोही ठहरी निवेदकले बेदखल गरे बापत रु.५। जरिवाना गर्ने गरी प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीबाट ०३६।८।३ मा निर्णय भएको रहेछ ।

१०.    यसमा प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीले दल्लु मियाँलाई मोही ठहराई निवेदकलाई जरिवाना गर्ने गरी ठहर भएको निर्णय बदर गराई पाउँ भनी निवेदकको प्रस्तुत रिट निवेदन परेकोमा प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफमा साविक चौहद्धी भित्रको जग्गा हाल सर्भे नापीमा कुनकुन कित्ता भई नाप नक्सा भएको रहेछ भनी मे.नापी शाखाबाट डोर खटाई साँध सँधियार वार्ड सदस्य समेत राखी जग्गा छुट्याउँदा नापी डोरले समेत साविक चौहद्धी भित्र देखिएको कि.नं.१७, ८०, ८५ र ८८ को प्रत्यर्थी दल्लु मियाँ मोही ठहर्नाले जग्गाधनीहरुले बेदखली गरेको ठहरी यस कार्यालयबाट निर्णय भएको भनी उल्लेख गरेको देखिन्छ । साविक चौहद्धी भित्रको जग्गा हाल सर्भे नापीमा कुनकुन कित्ताभित्र पर्छ भनी नापी शाखाबाट डोर खटाई आएको मुचुल्का समेतको आधारमा भू.सु.अधिकारीले निर्णय गरेको देखिन्छ, यसरी सबूत प्रमाणको आधारमा भू.सु.अ.ले तथ्यको निरोपण गरेकोमा सो तथ्य भित्र पसी पुनरावेदन तहबाट हेरेको जस्तो गरी भू.सु.अ.को निर्णय तथ्ययुक्त छैन भनी रिट क्षेत्रबाट हेर्न मिल्ने कुरा होइन । तसर्थ, सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदन खारेज गर्ने गरेको ०३७।९।५।६ स.अ.डि.बे.को निर्णय मनासिव छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

हामीहरुको सहमती छ ।

 

प्र.न्या.नयनबहादुर खत्री,  न्या.बब्बरप्रसाद सिंह 

 

इतिसम्वत् ०३९ साल आश्विन ८ गते रोज ६ शुभम् ।

