July 9, 1990
Created by nepalarchives

निर्णय नं. ४२६७ – उत्प्रेषण

निर्णय नं. ४२६७    ने.का.प. २०४८            अङ्क २, ३, ४   संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको रिट नं....

निर्णय नं. ४२६७    ने.का.प. २०४८            अङ्क २,

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४६ सालको रिट नं. १२०६

आदेश भएको मिति: २०४७।३।२५।३ मा

रिट निवेदक: का.न.पं. वडा नं. १३ बस्ने लक्ष्मीमान मानन्धर

विरुद्ध

विपक्षी : प्रधानपञ्च काठमाडौं नगरपञ्चायतसमेत

विषय : उत्प्रेषण

(१)                दुई पक्ष बीचको हक बेहक सम्बन्धी विवादका विषयलाई साधिकार अदालतले निर्णय गर्ने नै हुँदा जिल्ला अदालतमा दायर रहेको मुद्दाबाट प्रमाण बुझी कानुन बमोजिम विवादको विषयमा निर्णय हुने नै हुँदा रिटनिवेदन क्षेत्रबाट शुरु अदालतको विचाराधिन विषयलाई अनुकूल वा प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री शम्भु सिग्देल

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

आदेश

     न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ ।

२.    विपक्षी मध्येका मञ्जुमान, सत्यमान र देवरत्न तथा म निवेदकको नाउँमा संयुक्त दर्ता भएको टंकेश्वर ताहाचल गा.पं. वडा नं. ४ को हाल का.न.पं. वडा नं. १३ मा पर्ने कि.नं. २९८ को रोपनी ०२ जग्गा आफ्नो भागमा परेका घर र जग्गामा आउने जाने गरी बनाएको बाटो बण्डा अनुसार कित्ता काट गर्दा विभिन्न ठाउँमा विभिन्न चौडाई कायम गरी हुन आउने बाटोको क्षेत्रफल ०२ जग्गा साझा बाटो कायम राखी हामी चारजनाको नाउँमा दर्ता राख्ने गरी २०३०।९।३० मा दर्ता बण्डा गरी सोही साझा बाटो भोग चलन गरी आएका थियौं । उक्त क्षेत्रफलको जग्गालाई विपक्षीहरुले एकमना तरिकाले अन्दाजी ०३ जग्गा मात्र कायम गराई दर्ता दा.खा. नक्शा श्रेस्ता कायम गराएका रहेछन । त्यसको विरुद्ध श्री का.जि.अ.मा नालेश गरी मिति ०४७।१।१२ को तारेख तोकी पाएको छु । पारीत बण्डा अनुसार विपक्षी मध्येका देवरत्न मानन्धरले कि.नं. २९८ को जग्गा मध्ये उक्त साझा बाटोको पूर्व पश्चिम लम्बाई ३९ फिट, उत्तर दक्षिण ९ फिटको पूर्व जोर्नीमा निजको भागमा परेको घरको लागी ३+३ को भर्‍याङ निजले बनाउन पाउनेमा बण्डा अनुसार बनाउन पाउने भन्दा पनि ठूलो गरी नक्शा पास बेगर भर्‍याङ निर्माण गर्न लागेकोमा कारवाही गरी पाउँ भनी ०४५।१०।१९ मा उजूरी दिई दुवै पक्ष तारिखमा बसी आएका थियौं । सोही अवस्थामा नै विपक्षीले म निवेदकको बाटो नै बन्द हुने गरी उक्त भर्‍याङ बनाउन लागेकोले २०४५।१२।६ मा पनि का.न.प.मा उजूर दिएकोमा समेत दुवै निवेदनको कारवाहीमा दुवै पक्ष तारेखमा बसेको र कारवाहीको अन्तिम टुड्डो नलागेसम्म निर्माण कार्य नगर्ने गरी २०४६।१।१७ मा जिल्ला कार्यालय काठमाडौंमा दुवै पक्षले कागत पनि गरेका छौं ।

३.    कि.नं. २९८ को कित्ताकाट भई कायम भएको कि.नं. ६६१, ६६२, ६६५, ६६६, ६६४, ६६७ को जम्मा ०० जग्गामा घर तल्ला थप्ने भनी विपक्षीहरुले का.न.पं. मा नक्शा दर्खास्त दिंदा मेरो घरमा आउने जाने साझा बाटो बन्द हुने गरी भर्‍याङ निर्माण गर्ने नक्शा दर्खास्त गरेबाट मैले उजूर गरी संशोधन गर्न विपक्षीले नक्शा दर्खास्त दिंदा पनि साविक भर्‍याङ क्षे.लम्बाई ७ फिट ६ इन्च चौडाई ५ फिट र हाल बनाउने लम्बाई ९ फिट ८ इन्च चौडाई ५ फिट गरी संशोधित नक्शा दर्खास्त गरेकोमा हक नभएको जग्गामा भर्‍याङ बनाउन दावी गरेकोले नक्शा दर्खास्त खारिज गरी पाउँ भनी उजूरी दिंदा का.जि.अ.मा मुद्दा चलिरहेकोले दर्ता बदर मुद्दा नटुड्डीन्जेल नक्शा पास मुद्दा मुलतवी राखी पाउँ भनी मैले न.पं. मा निवेदन गरेको थिएँ । श्री का.न.प.बाट उक्त नक्शा पास मुद्दा फैसला गर्दा कि.नं. ६६९ को जग्गा साझा बाटो पर्ने तैपनि अंशबण्डा गर्दा सो साझा बाटोको जग्गामा देवरले भर्‍याङ बनाउन पाउने बण्डापत्रमा उल्लेख गरेको, का.जि.अ.मा मुद्दा चलेको भन्ने आधारमा मुलतवी राखी पाउँ भन्ने निवेदनमा विचार गर्दा बण्डापत्र बमोजिम भर्‍याङ बनाउन पाउँ भन्ने प्रस्तुत नक्शा दर्खास्तलाई उक्त मुद्दाबाट मुलतवी राख्न पर्ने देखिएन । बण्डापत्र बमोजिम वादीले आफ्नो घरमा भर्‍याङ बनाउन पाउने हुँदा सोही अनुरुपको नक्शा पास हुने ठहर्छ भनी लिखित आधार ग्रहण गरिएको छ ।

४.    उक्त फैसला पारित बण्डाको शर्त विपरीत न.पं. ऐन, २०१९ को दफा ४७ को त्रुटि र अ.बं. १२ नं. विपरीत भएकोले सो २०४६।१०।७ गतेको फैसला (साविक पेज नं. ९५) उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

५.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०४७।१।२५।३ को आदेश ।

६.    विपक्षी देवरत्नको नक्शा पास गर्ने गरी २०४६।१०।७ मा निर्णय गरेकोमा निज नक्शावालाले ३+३ को भरेङ बनाउन पाउने गरी उनीहरुको बण्डा पत्रमा व्यवस्था भएको र त्यसरी भर्‍याङ बनाउन पाउने होइन भनी विपक्षीको दावी तथा भनाई पनि नभएको साथै बण्डापत्र आजसम्म कायमै भएकोले, निर्णय भएकोबाट निवेदकको कुनै पनि हकमा आघात नपरेकोले रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको का.न.प. तथा का.न.प. को प्रधानपञ्चको तर्फबाट आएको लिखितजवाफ ।

७.    रिटनिवेदनको दावी झुठ्ठा एवं गैरकानुनी छ । मैले भर्‍याङ बनाउँदा कसैको हक हनन् गरेको छैन । आफ्नो जग्गाबाट ओहर दोहर गर्न हुने एरियामा भर्‍याङ निर्माण गरेको हो । साझा बाटो पनि घटेको छैन । यसै सम्बन्धमा का.जि.अ.मा विविध मुद्दाहरु परेका हुन । ती मुद्दालाई प्रतिकूल असर पर्ने गरी यो रिटनिवेदन विचारणीय छैन । विवादास्पद कुरा रिट क्षेत्रको विषय हुन सक्दैन । वास्तविकता के हो भने आफ्नो भोगको सम्पूर्ण जग्गाको नाप नक्शा हुन सकेको छैन । तसर्थ विपक्षीको हक नै नपुग्ने कुरामा दिइएको रिटनिवेदन खारेजभागी छ, भन्ने समेत व्यहोराको अन्य प्रत्यर्थीहरुको तर्फबाट मिति २०४७।४।२५।५ मा दिइएको संयुक्त लिखितजवाफ ।

८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु सिग्देलले का.न.पा. को नक्शा पास गर्ने फैसलाले अदालतमा विचाराधीन रहेको विवाद र ३+३ फिटको बाटो नक्शा पारीत गर्नु पर्नेमा बण्डापत्रको शर्त विपरीत बढी नापको भर्‍याङको नक्शा स्वीकृत गरेकोले सो न.पा. को आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो । यस्तै काठमाडौं नगरपालिकाको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले काठमाडौं नगरपालिकाले बण्डापत्रको शर्त भित्र रही नक्शा पास गर्न पाउने नै हुँदा बण्डापत्र भित्र रही गरेको नक्शा पासबाट निवेदकलाई केही असर परेको छैन । नक्शा पासको स्वीकृति भन्दा बढी घटी निर्माण कार्य भए गरेको भए सो छुट्टै विषय हुने भएकोले रिटनिवेदन खारेज हुनुपर्छ भनी गर्नु भएको बहस पनि सुनियो । यसै गरी अन्य विपक्षीहरुका तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्रस्तुत रिटनिवेदनबाट काठमाडौं जिल्ला अदालतमा विचाराधीन विविध मुद्दाहरुलाई असर पर्ने गरी आदेश गर्न नमिल्ने हुँदा निवेदन खारेज हुनुपर्छ भनी गर्नु भएको बहस पनि सुनियो ।

९.    निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

१०.    यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी प्रधानपञ्च समेतले विपक्षी देवरत्न मानन्धर समेतको नक्शा पास निवेदन सम्बन्धमा मिति ०४६।१०।७ मा निर्णय गरी भर्‍याङ समेतको नक्शा पास गरेको हुँदा हकदैयाँ नपुग्ने विषयमा र पारित बण्डाको शर्त विपरीत गरेको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । प्रत्यर्थी न.पा. समेतको जवाफबाट पारित बण्डा बमोजिम नक्शा पास गरिदिएको भन्ने समेत देखिन्छ । निवेदक र विपक्षीहरु बीचमा पारित अंशबण्डाका शर्त बमोजिम गर्न गराउनका लागि काठमाडौं जिल्ला अदालतमा विविध मुद्दाहरु चलिआएको र पक्षहरु तारेखमा समेत रहेको कुरा निवेदन र (साविक पेज नं. ९६) लिखितजवाफहरुबाट समर्थित भइरहेको छ । यसरी दुई पक्ष बीचको हक बेहक सम्बन्धी विवादका विषयलाई साधिकार अदालतले निर्णय गर्ने नै हुँदा जिल्ला अदालतमा दायर रहेका मुद्दाबाट प्रमाण बुझी कानुन बमोजिम विवादको विषयमा निर्णय हुने नै हुँदा रिटनिवेदन क्षेत्रबाट शुरु अदालतको विचाराधीन विषयलाई अनुकूल वा प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने हुँदा निवेदकको माग बमोजिम आदेश जारी गरी रहन परेन । प्रस्तुत रिटनिवेदन खारिज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४८ साल आषाढ २५ गते रोज ३ शुभम् ।